नेकपा उपाध्यक्ष गौतमले अघि सारे ६ बुँदे विवाद समाधानको प्रस्ताव, ओलीले राजीनामा दिनु नपर्ने !

नेकपा उपाध्यक्ष गौतमले अघि सारे ६ बुँदे विवाद समाधानको प्रस्ताव, ओलीले राजीनामा दिनु नपर्ने !

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र उत्कर्षमा पुगेको विवाद समाधानका लागि पार्टीका उपाध्यक्ष बामदेव गौतमले ६ बुँदे प्रस्ताव सार्वजनिक गरेका छन् । प्रस्तावमा उपाध्यक्ष गौतमले अध्यक्ष केपी शर्मा ओलीलाई एकता महाधिवेशनसम्म अध्यक्ष र बाँकी अवधीभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने प्रस्ताव राखेका छन् । 

त्यसैगरी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने प्रस्ताव गौतमले गरेका छन् । साथै उनले पार्टीको एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने पनि प्रस्ताव गरेका छन् । 

उपाध्यक्ष गौतमले आफ्नो यस ६ बुँदे प्रस्ताव दुवै अध्यक्षसमक्ष पेस गरेको पनि जानकारी दिएका छन् । गौतमको प्रस्तावमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिनु नपर्ने उल्लेख भएकोले गौतम ओली क्याम्प सरेको चर्चा शुरु भएको छ ।