ओलीलाई सरकारबाट फिर्ता बोलाउने 'प्रचण्ड-नेपाल' समूहको तयारी

ओलीलाई सरकारबाट फिर्ता बोलाउने 'प्रचण्ड-नेपाल' समूहको तयारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेको छ । गत बुधबार एक सार्वजनिक कार्यक्रममा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ट नेता माधव नेपालले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीविरुद्ध आक्रमक अभिव्यक्ती दिएपछि नेकपामा विवाद उत्कर्षमा पुगेको हो । 

जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीले सन्तोषजनक काम गर्न नसकेको भन्दै प्रचण्ड नेपाल समूहले दुबै पदबाट राजीनामा मागेपछि शुरु भएको विवादको श्रृङ्खला एक समूहले अर्को समूहको अस्थित्व नै नस्वीकार्ने तहसम्म अगाडि बढेको छ । प्रचण्ड र नेपालले सार्वजनिक रुपमै ओलीको आलोचना गरेपछि ओली समूहका दोस्रो तहका नेताहरु प्रचण्ड र नेपालविरुद्ध खनिइरहेका छन् । 

यता प्रचण्ड-नेपाल समूहले भने ओलीलाई सरकारबाट फिर्ता बोलाउनुपर्ने निष्कर्ष निकालेको छ । स्थायी कमिटीको बैठकबाट बहुमत सदस्यबाट राजीनामाको प्रस्ताव पारित गर्नेबारे उनीहरुमा एकमत देखिएको छ । 

राजीनामा पनि नदिने र बैठकबाट पनि तर्किने रणनीति ओलीले लिएपछि जनता र कार्यकर्तामाझ गलत सन्देश जाने भन्दै उनीहरुले पार्टी कमिटीको निर्णयबाटै सरकारबाट फिर्ता बोलाउने तयारीमा जुटेका हुन् । 

गत शुक्रबार प्रचण्डसँगको भेटकै ओलीले राजीनामा नदिने भन्दै सकेको गर्न चेतावनी दिएका थिए । ओलीको यस्तो चेतावनीपछि प्रचण्डले सार्वजनिक रुपमै ओलीकै इशारामा निर्वाचन आयोगमा नयाँ दल दर्ता भएको भन्दै नेकपा फुटको संघारमा रहेको बताएका थिए ।