राप्रपा छाडेका सुनील थापासहित ३१ नेता कांग्रेस प्रवेशको तयारीमा

राप्रपा छाडेका सुनील थापासहित ३१ नेता कांग्रेस प्रवेशको तयारीमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका प्रभावशाली नेता तथा पूर्वमन्त्री सुनिलबहादुर थापाले पार्टी परित्याग गरेका छन् । धनकुटाका उनीसहित ३१ जना नेताहरुले शनिबार पार्टीबाट संयुक्त राजीनामा दिएका हुन् । उनीहरुले पार्टीका नेता कमल थापा, प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर जबरालाई पत्र लेख्दै नेतृत्वको ढुलमुले नीतिले राप्रपाप्रति जन आकर्षण घटिरहेको निराशाजनक अवस्थाबारे वर्णन गर्दै पार्टी छाडेका हुन्। 

राप्रपाका संस्थापक नेता तथा पाँच पटक प्रधानमन्त्री भएका सूर्यबहादुर थापा पुत्र सुनीलसँगै विष्णु विक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव र पदमबहादुर बस्‍नेतले पनि पार्टी परित्याग गरेका छन्। सुनिलले आफ्नो समूहसहित कांग्रेस छिर्ने तयारी गरिसकेका छन्। 

कांग्रेस प्रवेश गराउनका लागि सभापति शेरबहादुर पत्‍नी आरजु राणाले नै विशेष पहल गरेको स्रोतले जनाएको छ। देउवाले सुनीललाई सह-महामन्त्री दिने गरी पार्टीमा प्रवेशका लागि 'कन्भिन्स' गरेको बताइएको छ ।