ओली र प्रचण्ड दुबैको विकल्प खोज्नुपर्छ: खनाल

ओली र प्रचण्ड दुबैको विकल्प खोज्नुपर्छ: खनाल

काठमाडाैं । नेकपाका वरिष्ट नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपाको नेतृत्व गर्न प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प खोज्नुपर्ने बताएका छन् ।  नेता खनालले आफूनिकट स्थायी कमिटी सदस्यहरूलाई डल्लु बोलाएर छलफल गर्दै ओली र प्रचण्डबाहेकको नेतृत्व खोज्नुपर्ने बताएका हुन् । 

छलफलमा नेता खनालले अर्ली महाधिवेशन सम्भव नभएको र त्यही बाटोमा जाने हो भने ओली, प्रचण्डबाहेकको नेतृत्वको खोजी गर्नुपर्ने बताएको सहभागीहरूले जानकारी दिएका छन् ।अहिलेको अवस्थामा अर्ली महाधिवेशन सम्भव नभएको उनको तर्क थियो ।  

“अर्ली महाधिवेशन नै गर्ने हो भने यो नेतृत्वबाट सम्भव छैन । अहिलेको मौजुदा केन्द्रीय कमिटीलाई आयोजक कमिटी बनाएर अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड बाहेकलाई नेतृत्व गर्न दिनुपर्छ ।” खनालको भनाई अध्रित गर्दै छलफलमा सहभागि एक नेताले बताए । 

अहिलेको नेतृत्वबाट सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी र समग्र पार्टी नै चल्न नसकेको, एकताले गति दिन नसकेको भन्दै महाधिवेशन गराउँछ भनेर विश्वस्त हुने आधार नरहेकाले विकल्पतिर जानुपर्ने खनालको तर्क थियो ।  

खनाललाई भेट्न सोमबार स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, केन्द्रीय सदस्य रविन कोइराला, नीरज आचार्यलगायत नेताहरू खनालनिवास डल्लु पुगेका थिए ।