नेकपा सचिवालय बैठक चलिरहँदा किन बालुवाटार छिरे मुख्यमन्त्रीसहित २ मन्त्री ?

नेकपा सचिवालय बैठक चलिरहँदा किन बालुवाटार छिरे मुख्यमन्त्रीसहित २ मन्त्री ?

काठमाडौं । पार्टीभित्र देखिएको विवाद समाधानको प्रयासस्वरुप नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । दिउँसो करीब सवा ३ बजेदेखि जारी सचिवालय बैठक साँझ सवा ६ बजेसम्म जारी छ ।

यसैबीच, नेकपा सचिवालय बैठक चलिरहेको समयमा नेकपाका दोस्रो तहका नेताहरू बालुवाटार पुगेका छन । स्थायी कमिटी सदस्य एवं ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ लगायतका नेताहरू बालुवाटार पुगेका छन् । सचिवालय बैठक चलिरहेको बेलामा उनीहरु बालुवाटार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

आइतवार बस्ने स्थायी कमिटीको बैठकको पूर्व सन्ध्यामा सचिवालय बैठक बसिरहेको हो । सचिवालय बैठकअघि अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शनिवार २ घण्टा छलफल भएको थियो ।

असार १० गते शुरू भएको स्थायी कमिटी बैठकमा प्रचण्ड लगायतका नेताले ओलीको राजीनामा माग गरेपछि नेकपा विवाद उत्कर्षमा पुगेको थियो । पछिल्ला दिनमा लगातार भएका छलफलबाट सहमति नजिक पुगिएको नेकपाका दोस्रो तहका नेताहरूले बताएका छन् । स्थायी कमिटीले निकास दिन नसकेको भन्दै केन्द्रीय कमिटीको बैठक बोलाउन माग भइरहेको समयमा सचिवालय बैठक बसेको छ ।