बालुवाटारमा त्रिपक्षीय छलफल सुरु, नेकपा विवाद समाधानको लागि यसरी हुँदैछ लिखित सहमति

बालुवाटारमा त्रिपक्षीय छलफल सुरु, नेकपा विवाद समाधानको लागि यसरी हुँदैछ लिखित सहमति

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद मिलाउन प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच त्रिपक्षीय छलफल सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साढे ११ बजेपछि सुरु भएको छलफलमा आज नेता नेपाललाई पनि सहभागी गराइएको हो । 

नेता नेपाललाई समेत वार्तामा वोलाएपछि आजको छलफलले निकास दिन सक्ने आशा जागेको नेताहरुले बताएका छन् । दुई अध्यक्षबीच हुदै आएको वार्तामा वरिष्ठ नेता नेपाललाई समेत सहभागी गराइपछि केही सहमति भएर निष्कर्षउन्मुख हुनसक्ने अपेक्षा गरिएको छ । 

हिजोको वार्तामा ओलीसमक्ष प्रचण्डले प्रवृत्तिगत सुधारसहित नौवटा बुँदा छलफलमा राखेका छन् । दुई अध्यक्षबीच लामो समयको बहस र छलफलपछि प्रधानमन्त्री तथा पार्टीअध्यक्ष ओलीसँग दाहालले पार्टीभित्र देखिएका प्रवृत्तिगत सुधारसहित नयाँ सहमति गर्ने र सहमत नभएका विषयमा ‘नोट अफ डिसेन्ट’ लेख्ने प्रस्ताव राखेका हुन्। छलफलमा उनले नेता माधवकुमार नेपाललाई पनि सहमत गराएर मात्र अघि बढ्नुपर्ने प्रस्ताव राखेका थिए।  

पार्टीभित्र आन्तरिक विवाद चर्किएपछि ओली–दाहालबीच यीबाहेक अन्य विषयमा छलफल भएको थियो। ओलीले पार्टीअध्यक्ष र प्रधानमन्त्री दुवै नछाड्ने अडान लिएपछि दाहालले आफ्नो तर्फबाट लचकता अपनाएर सहमतिका लागि नयाँ प्रस्ताव अघि सारेका छन्। यसअघि दुवै पद छाड्नुपर्ने अडान राखेका दाहाल पार्टीभित्रको विवाद समाधानका लागि लचिलो देखिएका हुन्।

प्रचण्डले ‘पार्टीका शीर्ष नेताको प्रवृत्तिलाई सुधार गरौं, कसले कस्तो प्रवृत्ति अवलम्बन गरेका छन् सुधार गरौं र पार्टी एकता भएको बखत भएको आलोपालो सहमतिका आधारमा पनि विवाद सुल्झाउन सकिने, गत मंसिरमा दाहालले पार्टीको जिम्मेवारी भूमिका निर्वाह गर्ने गरी गरिएको सहमतिलाई कार्यान्वयन गर्ने, पार्टीअध्यक्ष ओली स्वयं उपस्थित भई वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने सचिवालय बैठकको निर्णय कार्यान्वयन गर्नुपर्ने, पार्टीभित्र बलियो शक्तिका रूपमा रहेका माधव नेपाललाई बाइपास गरेर जान नसकिने र उनले राखेका मागको सकेसम्म सम्बोधन गर्ने र सहमत नभएका विषयमा ‘नोट अफ डिसेन्ट’ लेख्न दिने, अहिले हुने सहमतिलाई त्रिपक्षीय सहमितका रूपमा व्याख्या गरिने तथा मुख्यमन्त्री र मन्त्रिपरिषद् हेरफेर गर्ने’ प्रस्ताव गरेका छन्। 

उक्त प्रस्तावमा ओली सहमत भएकोले आज नेता नेपाललाई पनि राखेर लिखित सहमति गर्ने तयारी भैरहेको स्रोतको दाबी छ ।