ओली र प्रचण्डबीचको वार्ता सकियो,  यसरी हुँदैछ सहमति

ओली र प्रचण्डबीचको वार्ता सकियो,  यसरी हुँदैछ सहमति

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार करिब ३ घण्टा भेटवार्ता भएको छ । साउन २ गतेलाई निर्धारित स्थायी कमिटी बैठकअघि सहमति जुटाउने प्रयासमा करिब ३ घण्टासम्म ओलीसँग छलफल गरेर अध्यक्ष प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन् । 

ओली र प्रचण्डबीच गत मंसिर ४ को सहमतिलाई परिमार्जन गरेर लिखित सहमति गर्ने समझदारी बनेको बताइन्छ । मंसिर ४ को सहमतिमा ओलीले ५ वर्ष नै सरकार चलाउने र प्रचण्डलाई कार्यकारी अध्यक्षको भूमिका दिइने उल्लेख थियो । तर अब हुने सहमतिमा प्रचण्डलाई केही अधिकार थप गर्ने बताइएको छ । 

त्यसो त ओलीले आगामी महाधिवेशनमा अध्यक्ष पदको उम्मेद्वारी नदिने र निर्वाचनपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन सघाउनेबारे पनि लिखित सहमति गर्न तयार भएको बताइन्छ । तर हाल प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबैपदबाट राजीनामा दिन ओली तयार भएका छैनन् । ओलीले पार्टी सञ्चालनमा आफूले कुनै भूमिका नखेल्ने तर राजीनामा भने नदिने बताउँदै आएका छन् । 

स्रोतको अनुसार भोलि दुई अध्यक्षबीच लिखित सहमति गर्ने तयारी भएको छ । आजको भेटवार्तामा सहमतिको खाका तयार भएको र पार्टीका वरिष्ट नेताद्धय माधव नेपाल र झलनाथ खनाललगायतका नेताहरुसँगको थप परामर्शपछि सहमतिलाई अन्तिम रुप दिने तयारी छ । 

दुई अध्यक्षबीच अन्य नेताहरुसँग परामर्श गरेर भोलि नै सहमतिलाई मुर्तरुप दिने समझदारी बनेको छ ।  आजको दुई अध्यक्षबीचको छलफलमा केही समय महासचिव बिष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।