कोरोना पुष्टि भएपछि अमिताभले भने -'डाक्टरको रूपमा भगवान बाहिर आएका छन्'

कोरोना पुष्टि भएपछि अमिताभले भने -'डाक्टरको रूपमा भगवान बाहिर आएका छन्'

नयाँ दिल्ली । बलिउड अभिनेता अमिताभ बच्चनसहित उनको परिवारका चार जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । अमिताभका साथै छोरा अभिषेक, बुहारी ऐश्वर्या राय बच्चन र नातिनी आराध्यालाई पनि कोरोना संक्रमण पुष्टि भएको हो । परिवारका चार जनालाई कोरोना भाइरसको संक्रमण भए पनि अमिताभकी पत्नी जया बच्चनको रिपोर्ट भने नेगेटिभ आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यसअघि अमिताभले ट्विटमार्फत आफूलाई कोरोना भाइरस संक्रमणको बताएका थिए। उनी अस्पताल भर्ना भइसकेका छन्।बच्चनलाई मुम्बईस्थित नानवती अस्पताल भर्ना गरिएको इन्डिएन एक्सप्रेसले लेखेको छ। बच्चनले परीक्षणका क्रममा आफूलाई कोरोना पोजिटिभ देखिएको जानकारी फेसबुक तथा ट्विटरमार्फत् गराएका छन्।

साथै उनले घर बाहिर ननिस्कन र आफूसँग भेट भएकाहरुले कोरोना परीक्षण गराउनुहुन पनि आग्रह गरेका छन् । संक्रमित भएपछि चिकित्सकको निगरानीमा रहेका उनले डाक्टरहरुलाई भगवानसँग तुलना पनि गरेका छन् । उनले भनेका छन् -'यतिवेला संपूर्ण मन्दिरहरु बन्द छन् । किनकी भगवान नै डाक्टरको रुपमा अस्पतालहरुमा सेतो पोसाकमा बिरामीको उपचारमा व्यस्थ छन् ।'