'सचिवालय र स्थायी कमिटी फेल भयो, केन्द्रीय कमिटीको बैठक डाकौं'

'सचिवालय र स्थायी कमिटी फेल भयो, केन्द्रीय कमिटीको बैठक डाकौं'

काठमाडौं  । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का  युवा नेताहरुले बुधबार पनि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा धर्ना दिएका छन् । पार्टी विभाजनतर्फ गएको भन्दै उनीहरुले शीर्ष नेतालाई दवाव दिन पछिल्लो पाँच दिनदेखि धुम्बाराहीमा धर्ना दिइरहेका छन् । सचिवालय र स्थायी कमिटीले विवाद मिलाउन नसकेको भन्दै युवा नेताहरुले केन्द्रीय कमिटीको बैठक बोलाउन माग गर्दै हस्ताक्षर अभियान पनि चलाइरहेका छन् ।

लामो सङ्घर्षपछि एक भएको कम्युनिस्ट पार्टी फेरि फुट्दा नेपालको कम्युनिस्ट आन्दोलन नै धरापमा पर्ने भएकाले खबरदारी स्वरुप धर्ना दिइएको नेता हिमाल शर्माले बताए । ‘नीति र विधानअनुसार पार्टी अघि बढ्नुपर्छ, नेता प्रधान हुनु हुँदैन, विवादको समाधान पार्टीका बैठकबाट हुनुपर्छ । बाहिर भेला गर्दै हिँड्न नपाइने भएकोले हामीले खबरदारी गरिरहेका छौँ’, नेता शर्माले भने । 

उनले सचिवालय र स्थायी कमिटीको बैठकले समाधान निकाल्न नसकेकोले अविलम्ब केन्द्रीय कमिटीको बैठक बोलाउन पनि माग गरिएको बताए । बैठकको माग गर्दै आजसम्म एक सय जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् । छिटै हस्ताक्षर शीर्ष नेतालाई बुझाएर ध्यानाकर्षण गराउने बताइएको छ ।