वास्तवमा नेपाल विचित्रकै देश हो । हुन त जुन देशका आराध्यदेव नै पशुपति अथवा जनावरहरूका मालिक छन् त्यस देशका जनताको बुद्धि भेडाको भन्दा गतिलो कसरी पो हुन सक्दथ्यो र !?
यहाँ राष्ट्रिय जीवनका हरेक क्षेत्रमा चरम् हास्यास्पद गतिविधि भइरहेका छन् । राष्ट्रिय सेना क्याटरिङ सर्भिस दिइरहेको छ । पेट्रोल बेचिरहेको छ र बिस्तारै बिस्तारै ठेक्कापट्टा र मालसामान आपूर्तिमा एकाधिकार लिन उद्यत छ । राष्ट्रिय प्रहरी बलको त यस्तो फजिती भएको छ, त्यसका केही आईजी समेत अनेकौँ ठूला अधिकृतहरू भ्रष्टाचारको आरोपमा जेल सजाय भोगिरहेका छन् । कति पूर्व अधिकृतहरू धरौटीमा बाहिर निस्कन वकिलहरूको चाकरीमा लामबद्ध छन् ।
पार्टीका क्याडरहरूबाट उच्च र सर्वोच्च अदालतका इजलासहरू भरिएका छन् । त्यसै पनि पैसाको जोरमा न्याय सजिलै किन्न सकिने देशहरूको पंक्तिमा नेपाल सबैभन्दा अगाडि छ । विशेष अदालतमा कार्यरत रहँदा भ्रष्टाचारका दशौँ मुद्दामा गलत निर्णय दिएको भनेर सर्वोच्चको इजलासबाट फट्कार पाएका व्यक्ति प्रधान न्यायाधीश बन्न पाउने देश पनि संसारभरिमा शायद यो अभागी देश नेपाल नै हो ।
नेपालमा पार्टीहरू एक हुनमा र चिरा चिरामा विभाजित हुनमा एउटै मात्र उद्दीपक तत्व रहने गर्दछ तात्कालिन लाभ । अघिल्लो दिनसम्म फियो समेत गल्ने गरी गाली गरिरहेको माओवादी केन्द्रका नेता प्रचण्डसँग एमाले अध्यक्ष ओली न्याँनो अंकमाल गर्न पुग्छन् । दुवै दलका कुनै पनि नेता र कार्यकर्ताहरूले त्यो अंकमालको निहितार्थका बारेमा कुनै एक जनाले पनि प्रश्न गर्दैन ।
प्रधानमन्त्री केपी ओली सत्ता सम्हालेको दोस्रो महिनादेखि भ्रष्टाचारीहरूको प्रतिरक्षामा लागेको लाग्यै छन् । मेडिकल माफियाको खर्चमा आफ्नो औषधि उपचार गराउछन् उनी । मेडिकल माफिया डनले खुवाएको मार्सी चामलको भातले लट्ठिन्छन् । संसदीय समितिको प्रतिवेदनले डामेर छोडेको मन्त्रीलाई हचुवाका भरमा सफाइ दिन्छन् । विवादास्पद विदेशी धर्मपाखण्डीले दिएको सानो रकमको पुरस्कार समेत् लिन्छन् । सरकारी निवासलाई पार्टीको मुख्यालय र नेकपाका कार्यकर्ताहरूको कार्यक्रम आयोजनास्थल बनाउँछन् । सरकारी जग्गा दमपच पार्ने व्यक्तिलाई पार्टी महासचिव पदमा कायम राखिरहन्छन् । आसेपासे र मोटो थैली चढाउनेहरूलाई राजदूत जस्तो महत्वपूर्ण पदमा नियुक्त गर्दछन् । प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले पानीमा पादेको जस्तो कुरा गर्नु हुँदैन भन्ने कुराको पत्तै नपाए जस्तो अनेक अनर्गल गफ दिइरहन्छन् ।
पार्टीका अधिकांश वरिष्ठ नेताहरूले प्रधानमन्त्रीलाई पदत्याग गर्न गरेको आह्वानका सन्दर्भमा यसलाई राजनीतिक चुनौतीका रूपमा स्वीकार गरेर शोभनीय किसिमले पार्टी वा संसदको मञ्चबाट सल्टाउनुको सट्टा 'प्रधानमन्त्री हटाउँन पाइँदैन' भन्दै उफ्रिने नवकामरेडहरूको झुण्ड (जसलाई कमण्डले अर्थात् कम्युनिस्ट मण्डले पनि भन्न सकिन्छ) लाई माइतीघर मण्डलमा खटाएर ओली र उनका भारदारहरूले जुन गाईजात्रा देखाएका छन् त्यो भने ऎतिहासिक छ । संसदमा दुई तिहाइको निकट बहुमत भएको पार्टीको संसदीय दलका नेताले आफ्नो पद जोगाउन यस्तो अराजक झुण्डलाई परिचालन गरेको दृष्टान्त अन्यत्र शायदै भेटिएला । सबै कुरा छोडी पुच्छरमा हात भनेझैं गम्भीर राजनीतिक समस्याहरूबाट भाग्न प्रधानमन्त्री ओलीले संसदमा आफ्नै सरकारद्वारा प्रस्तुत अनेक प्रस्तावलाई बेवारिसी बनाउने गरी संसदको चालु अधिवेशनकै अन्त्य गरिदिएका छन् ।
पशुपतिनाथले सक्छन् भने गरून् नेपाल र नेपालीको रक्षा !!