नेपालमा पनि आयो, डिजिटल चलचित्र हेर्ने एप

नेपालमा पनि आयो, डिजिटल चलचित्र हेर्ने एप

काठमाडौं । नेपाली चलचित्रलाई लक्षित गर्दै नयाँ चलचित्र एप रिलिज भएको छ । नायिका ऋचा शर्मा लगायत केही आईटीमा आवद्ध व्यक्तिहरुको समूहले नयाँ चलचित्र एप सार्वजनिक गरेको हो । 

‘चलचित्र टिभी’ नामक एप आज विहान सार्वजनिक गरिएको नायिका शर्माले नेपाल डेलीलाई जानकारी दिइन् । https://www.chalchitra.tv  लग इन गरेर एपमा जान सकिने उनले बताइन् । 
आजबाटै चलचित्र हेर्न सक्ने व्यवस्था मिलाउने तयारी गरिए पनि केही समस्याका कारण चलचित्र हेर्न भने समय लाग्ने उनले जानकारी दिइन् । त्यसैगरी मोवाइलमा एप डाउनलोड गर्न पनि अझै दुई हप्ताजति कुर्नुपर्ने पनि उनले बताईन् ।

चलचित्र टिभी’ एपमा सुरुमा कलाकार, निर्माता तथा निर्देशक दीपकराज गिरीका दुई चलचित्र ‘छक्का पञ्जा–३’ र ‘छ माया छपक्कै’ राखिने छ ।  यो कुरा  कलाकार तथा निर्माता दीपकराज गिरीले फेसबुकमा स्ट्याटुस लेख्दै पुष्टी गरिसकेका छन् । 

तोकिएको रकम तिरेपछि दर्शकले जुन ठाउँमा बसेर पनि चलचित्र हेर्न पाउने छन् ।  शर्माका अनुसार, यो एप नेपालमा बस्ने दर्शकका लागि भन्दा देश बहिर रहेका नेपाल फिल्म प्रेमीका लागि सजिलो माध्यम बन्नेछ ।

एपले निश्चित रकममा चलचित्र किनिसकेपछि पनि हलको भन्दा धेरै मुल्य अर्थात “बाँकी ६०र४० मा सम्झौता गर्नेछ ।” उठेको कलेक्सनको ६० प्रतिशत चलचित्रको निर्माण समूहले लिने छ भने बाँकी ४० प्रतिशत ‘चलचित्र टिभी एप’को हुनेछ । 

प्रायः युट्युबमा अपलोड हुने नेपाली चलचित्रबाट निकै कम पैसा आउँदा निर्मातालाई फाइदा हुने गरेको छैन । त्यसैले अब नेपाली चलचित्र पनि एपमा जानुपर्ने र यसका लागि भरपर्दो डिजिटल प्लेटफर्मको आवश्यकता रहेको चलचित्रकर्मीहरु बताउँदै आएका छन् । 

‘छक्का पञ्जा–३’ दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्र हो भने ‘छ माया छपक्कै’ दीपेन्द्र लामा निर्देशित चलचित्र हो । यी दुवै चलचित्र वर्षकै सर्वाधिक ग्रस कलेक्सन गरेका चलचित्र हुन् ।