सडक दुर्घटनामा बाँकेमा दुईको मृत्यु

सडक दुर्घटनामा बाँकेमा दुईको मृत्यु

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका सिक्टाको जङ्गलस्थित पूर्वपश्चिम राजमार्ग सडकखण्डमा आज भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा कारमा सवार नवलपरासी, कावासोती नगरपालिका—८ बस्ने २२ वर्षीय क्षितिजकुमार कुँवर र चितवन, भरतपुर महानगरपालिका-१२ निवासी ४१ वर्षीय कमलराज लम्सालको मृत्यु भएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।

प्रहरीका अनुसार वा १४ च २७८९ नंको कार अनियन्त्रित भई सडकदेखि तीन मिटर दाहिने छेउमा रहेको रुखमा ठोक्किएको थियो । यसैबीच बाँके प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका एक व्यक्तिलाई दशकपछि पक्राउ गरिएको छ । डुडुवा गाउँपालिका–३ बस्ने ३१ वर्षीय ‘धर्मा सिंह’ भनिने राजेश यादवलाई आज बिहान उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो ।

यादवमाथि नेपालगञ्ज-२१ निवासी २२ वर्षीय वसन्त मल्ल भनिने छन्दविक्रम मल्लको अपहरण गरी हत्या गरेको आरोप लागेको छ । विसं २०६६ भदौ २१ गते सम्साँझै घरबाट अपहरणमा परेका मल्लको भोलिपल्ट बिहान साविक बाँकेको उदयपुरस्थित धानखेतमा शव भेटिएको थियो । जिल्ला प्रहरी कार्यालयमा आज भएको पत्रकार सम्मेलनमा प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले अभियुक्त यादव विभिन्न अपराधमा संलग्न रहेको बताउनुभयो । नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा प्रवीणता प्रमाणपत्र तह दोस्रो वर्षमा अध्ययनरत मल्लको हत्याको जिम्मा तत्कालीन तराई मधेश मुक्ति टाइगर (ज्वाला समूह) ले लिएको थियो ।