माइक छोडेर कोदालोसँग रमाउँदै अमृत गुरुङ

माइक छोडेर कोदालोसँग रमाउँदै अमृत गुरुङ

काठमाडौं । लकडाउनले आम सर्वसाधारणदेखि सेलिब्रिटीको दिनचर्या पनि बिथोलेको छ। अन्योलले सिर्जनाकर्मीको सिर्जनामा पनि असर पारेको छ। यस्तैमा गायक अमृत गुरुङ भने गितार र माइक छोडेर कोदालो भिरी खेततिर ओर्लेका छन्।

मानो रोपेर मुरी उब्जाउने यो समयमा उनी खेतीपातीमा रमाएका छन्। उनको हातमा गितारको साटो कोदाली र धानको बीउ छ।
चर्चित सांगीतिक समूह ‘नेपथ्य’ का हर्ताकर्ता गायक गुरुङ हाफ पाइन्ट, टिसर्ट र ह्याट पहिरिएर कहिले साना कान्लामा मकै गोडमेल गरिरहेका छन् त कहिले गाईबस्तुको गोठमा जंगली साग केलाइरहेका छन्। लकडाउन अवधिमा उनले खेतबारीमा रमाएका तस्बिर सामाजिक सञ्जालमा नियमित सेयर गर्दै आएका छन्।

गायक गुरुङले पछिल्लो तस्बिर खेतमा रमाएर धान रोपिरहेको अनि थकानका बीच थुम्कोमा बसेर चिया खाइरहेको तस्बिर सेयर गरेका छन्। तस्बिरसँगै उनको स्ट्याटसमा उल्लेख छ, ‘आज दिनभर ‘परेली’ सँगै लागेर खेतीमा खटियो। बेस्सरी रमाइलो भयो। अब बाँकी खेती असार १५ लाई। खुसीको कुरा, हाम्रोमा परेली लगाउने चलन अझै छ। गाउँमा सबैको खेतमा गाउँकै सामूहिक–सामुदायिक श्रम आदानप्रदानबाट पहिलेदेखि गाउँको खेती थालिएको थियो। हामी त्यसलाई निरन्तरता दिने प्रयासमा छौं।’

हरेक गीतमा कम्पन पैदा गर्ने गायक गुरुङ खेतीपातीमा रमाएर अल्छी युवामा कम्पन पैदा गरिरहेका छन्। सायद उनी गुन्गुनाइरहेका छन्, ‘साग र सिस्नु खाएको बेस आनन्दी मनले।’अन्नपूर्णमा खबर छ ।