काठमाडौं । बाढीका कारण अवरुद्ध पृथ्वीराजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डको कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ ।
ट्रयाक खोल्ने काम सम्पन्न भएसँगै यो सडकखण्डमा भोलिबाट पूर्णरूपमा सवारी साधन सञ्चालन हुने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
आइतबार भित्तातर्फको कटिङ तथा सडक सम्याउने काम सम्पन्न गरी केही सवारीसाधन परीक्षणका रूपमा आवतजावत गराइएको थियो ।
परीक्षण सफल भएपछि नियमित सवारीसाधन सञ्चालनका गर्न तीव्रता दिइएको थियो । करिब ३०० मिटर लामो नयाँ ट्रयाकमा सात मिटर चौडाइको सडक र नालीसहित करिब साढे सात मिटरको संरचना निर्माण गरिएको छ ।
निर्माणको पहिलो चरणमा ९ देखि १० दिनसम्म ११–१२ उपकरण परिचालन गरिएको थियो । करिब ४०–५० जना दक्ष तथा अदक्ष मजदुर परिचालन गरिएको थियो ।
ग्रेडर, रोलर र एक्साभेटरसहित ५/६ वटा हेभी इक्युपमेन्ट प्रयोगमा ल्याएर ट्रयाक खोल्ने काम भएको थियो ।


