१२ दिनमा २४ हजार नेपालीको उद्धार गर्ने सरकारको निर्णय

१२ दिनमा २४ हजार नेपालीको उद्धार गर्ने सरकारको निर्णय
फाइल फोटो ।

काठमाडौं । सरकारले ६७ उडानमार्फत पहिलो चरणमा २४ हजार नेपालीको उद्धार गर्ने भएको छ, नेपाल वायुसेवा निगम र हिमालयले ४३ उडान गर्नेछन् भने विदेशी एयरलायन्सले २४ उडान गर्नेछन्, उद्धार उडानको भाडादरसमेत तय गरिएको छ । 

सरकारले आगामी ३२ जेठ आइतबारदेखि ११ असारसम्म विदेशमा रहेका नेपालीको उद्धार गर्ने भएको छ । नेपाली र विदेशी एयरलायन्सले गरेर ६७ वटा उडानमार्फत पहिलो चरणमा २४ हजार नेपालीको उद्धार गर्ने निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको हो । यो समाचार केदार दाहाल र मुना कुँवरले संयुक्त रुपमा नयाँ पत्रिकामा लेखेका हुन् ।

मन्त्रालयले नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सलाई ३२ जेठबाट हुने विस्तृत उद्धार तालिका बुधबार नै पठाएको छ । कुनकुन देशबाट कुन एयरलायन्सले कतिको उद्धार गर्ने भनेर तालिका दिइएको हो । सरकारले पहिलो चरणमा विभिन्न देशबाट २४ हजार नेपालीको उद्धार गर्ने सूची तयार पारेको छ । पर्यटन मन्त्रालय सोहीअनुसार पहिलो चरणको उद्धारका लागि उडानको सेड्युल तयार पारेको हो । 

मन्त्रालयले दुई एयरलायन्स कम्पनीका कुल दैनिक १० वटा उडानबाट नबढ्ने गरी तालिका बनाएको हो । १० उडानबाट दुुई एयरलायन्सले दैनिक एक हजार आठ सयजनाको उद्धार गर्नेछन् । मन्त्रालयले उडानको भाडासमेत तय गरेर मन्त्रिपरिषद् कार्यालय र परराष्ट्र मन्त्रालयमा पठाएको छ । सरकारले भनेबमोजिम उद्धारका लागि तयार रहेको नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष सुशील घिमिरेले बताए । 

नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सले विदेशबाट दैनिक १४ उडानमार्फत दुई हजार ६ सय ५६ यात्रुको नेपाल ल्याउन सक्ने प्रस्ताव गतसाता पठाएका थिए । एकैदिन ठूलो संख्यामा मानिस ल्याउँदा व्यवस्थापन गर्न कठिन हुने भएकाले तत्काल दैनिक १० उडानमार्फत मात्रै उद्धार गर्ने मन्त्रालयले जनाएको छ । 

निगमसँग एक सय ५८ सिट क्षमताका एयरबस ३२० सिरिजका दुई र दुई सय ७४ सिट क्षमताका एयरबस ३३० सिरिजका दुई थान जहाज छन् । हिमालय एयरलायन्सका पनि एक सय ५८ सिट क्षमताका एयरबस ३२० सिरिजका तीन थान जहाज छन् । ती जहाजले प्रत्येक उडानमा ८५ प्रतिशत सिट भरिएपछि मात्रै उडान गर्ने पनि मन्त्रालयले जनाएको छ । 

कहाँ कहिले उडान ? 

उद्धारको क्रममा नेपाली एयरलायन्सले ४३ उडान गर्नेछन् भने विदेशका एयरलायन्सले २४ उडान गर्नेछन् । ४३ मध्ये नेपाल वायुसेवा निगमले २४ र हिमायल एयरलायन्सले १९ वटा उडानबाट उद्धार गर्नेछन् । 

मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार नेपाल वायुसेवा निगमको जहाज वाइडबडीले ३२ गते बंगलादेशमा पहिलो उडान गरी नेपाली ल्याउनेछ ।

असार १ गते मलेसिया, साउदी अरब, सिंगापुर, कम्बोडिया र ओमनबाट एक–एक उडान चार्टर गरेर ल्याइनेछ ।

त्यस्तै असार २ गते युएई, कतार, कुवेत र श्रीलंकाबाट एक–एक उडानमार्फत चार्टर गरेर नेपाल ल्याइनेछ ।

असार ३ गते अस्ट्रेलिया, बैंकक, बहराइन, बंगलादेश, कतार र अमेरिकाबाट एक–एक उडान गरेर नेपाली ल्याइनेछ ।

असार ४ गते साउदी अरब, युएई, मलेसिया र ओमनबाट एक–एक चार्टर उडान हुनेछ । त्यस्तै, असार ५ गते जापान, कुवेत, साउदी अरब र नाइजेरियाबाट दुई–दुई उडान हुनेछ ।

असार ६ गते साइप्रस, मलेसिया, कतार, युएई, बंगलादेश र युरोपबाट एक–एक चार्टर उडान गरेर नेपाली ल्याइनेछ ।

असार ७ गते दक्षिण कोरिया, ओमन, कुवेत, मलेसियाबाट दुई–दुई चार्टर उडान हुनेछ ।

असार ८ गते अस्ट्रेलिया, बैंकक, पाकिस्तान र कतारबाट एक–एक चार्टर उडान गरेर नेपाल ल्याइनेछ ।

असार ९ गते जापान, माल्दिभ्स, युएई र युगान्डाबाट दुई–दुई चार्टर उडान हुनेछ ।

असार १० गते साउदी, कुवेतबाट दुई–दुई उडान हुनेछ ।

त्यसैगरी असार ११ गते अमेरिका र साइप्रसबाट एक–एक उडान हुनेछ । 

यस्तो छ सर्त 

वायुयानमा ८५ प्रतिशत यात्रु हुनुपर्ने पहिलो सर्त राखिएको छ । त्यस्तै, नेपाल आउन चाहने नेपालीले पिसिआर वा आरडिटीको नेगेटिभ रिपोर्टको प्रमाणपत्र पेस गर्नुपर्नेछ । वायुसेवा कम्पनीले दूतावासमार्फत मात्रै समन्वय गर्नुपर्ने हुन्छ । यात्रु आइसकेपछि सरकारको निर्णयअनुसार क्वारेन्टाइनमा बस्नुपर्नेछ । सरकारले तोकेको भाडा करसहित भएकाले तोकेको भाडाभन्दा बढी असुल गर्न पाइनेछैन । 

भाडा कहाँ कति ?

 
संख्या    गन्तव्य    भाडा (डलर)
१    ओमन    ५१०
२    साउदी अरब दमाम    ५९०
३    साउदी अरब रियाद    ६३०
४    बैंकक, थाइल्यान्ड    ३९०
५    ढाका, बंगलादेश    १६५
६    मलेसिया    ५२०
७    दोहा, कतार    ५४५
८    युएई    ५००
९    कुवेत    ५७०
१०    कम्बोडिया    ४००
११    बहराइन    ५४५
१२    साउदी अरब जेदाह    ७७०
१३    सुडान    ९४०
१४    माले, माल्दिभ्स    ५०५
१५    हङकङ    ५५०
१६    दिल्ली    २०५
१७    मुम्बई     ३१०
१८    बेंग्लोर    ३३५
१९    ओमन    ८१५
२०    साइप्रस    ८७५
२१    नारिता, जापान    ९३५
२२    हिथ्रो (युके)     १३५०
२३    फ्र्यांकफर्ट (जर्मनी)    १२५५


कुवेतबाट तीन सय श्रमिक ल्याइँदै 

जजिरा एयरका दुई जहाजले कुवेतमा समस्यामा परेका नेपालीलाई लिएर आउँदै छन् ।

ओमानबाट पनि १ असारमा १८० नेपाली ल्याइँदै 

वैदेशिक रोजगारीमा कुवेत पुगेर समस्यामा परेकामध्ये तीन सय नेपालीलाई त्यहाँको सरकारले नेपाल फर्काउने भएको छ । 
सरकारबाट आममाफी पाएकामध्ये कुवेतले आफ्नै खर्चमा नेपालीलाई फर्काइदिन लागेको हो ।

ती नागरिक बिहीबार दिउँसो जजिरा विमान कम्पनीका दुई जहाजमार्फत काठमाडौंमा ओर्लंदै छन् । जजिराले बिहीबार बिहान ११ः३० र मध्याह्न १२ः३० को उडानतालिका पाएको छ । 

जजिराले बुधबार नै एक सय ५० नेपालीलाई ल्याइदिने भएको थियो । तर, नागरिक उड्डयन प्राधिकरणले कूटनीतिक नियोगबाहेकका उडानमा प्रतिबन्ध गरेकाले ल्याउन सकेन । बुधबार सहमति भएपछि बिहीबार उडान हुने निश्चित भएको हो । ‘प्राधिकरणले उडान अनुमति दिएको छ,’ कुवेतस्थित नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले भने, ‘बिहीबार तीन सयलाई लिएर जजिराको जहाज उड्दै छ ।’ 

कुवेतमा रहेका नेपाली कामदारमध्ये गैरकानुनी रूपमा रहँदै आएका, भिसा अवधि सकिएकालगायतका करिब तीन हजार कामदारलाई यहाँको सरकारले आममाफी दिएको थियो । तीमध्ये महिला र बिरामीलाई पहिलो प्राथमिकतामा राखेर फर्काउने प्रक्रिया सुरु गरेको भण्डारीले जानकारी दिए । 

कोरोना प्रभाव विश्वभर फैलिँदै गएपछि कुवेतले गत अप्रिल १ देखि ३० तारिखसम्म आममाफीको आवेदन दिन आह्वान गरेको थियो । भिसाको अवधि सकिएका र स्पोन्सरको घर छोडेर गैरकानुनी रूपमा कुवेत रहँदै आएका सबै मुलुकका श्रमिकलाई सरकारले आममाफीका लागि आवेदन दिन आह्वान गरेको थियो । नेपाली श्रमिकमध्ये करिब तीन हजारले आवेदन दिएका थिए । 

गैरकानुनीमा रूपमा बस्दै आएका श्रमिकलाई कुवेत सरकारले समातेर नेपाल फर्काउने गर्छ । तर, यसका लागि श्रमिकले ठूलो रकम भुक्तानी गर्नुपर्ने हुन्छ । र, पुनः श्रमिक स्वीकृतिमा रोक लगाइन्छ । तर, यसपटकको आममाफीमा कुवेत सरकारले कुनै पनि शुल्क नलाग्ने तथा श्रमिक फेरि फर्किन चाहेमा फर्किन पाउने अवसरसहित आममाफी दिएको छ । 

असार १ गते ओमानबाट १८० जना फर्काइँदै

ओमानबाट १ असारमा एक सय ८० जना श्रमिकलाई फर्काइने भएको छ । ओमानको सलाम एयरमार्फत जोखिममा रहेकामध्येलाई नेपाल फर्काउन लागिएको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीले बताइन् । उनका अनुसार ओमानबाट फर्किने नेपालीले टिकट खर्च आफैँले व्यहोर्नेछन् । टिकटको प्रतिव्यक्ति करिब ३६ हजार रुपैयाँ तोकिएको छ । 

नेपाल फर्किनु सात दिनअघि श्रमिकले पिसिआर परीक्षण गर्नुपर्नेछ । पिसिआर परीक्षण नेगेटिभ देखिएका श्रमिकलाई मात्रै नेपाल फर्काइने उनले बताइन् । नेपाल फर्किने श्रमिकलाई सीधै होम क्वारेन्टाइनमा पठाइने व्यवस्था गरिएको छ । हाल ओमानका विभिन्न स्थानमा रहेका श्रमिकको पिसिआर परीक्षण भइरहेको छ । ओमानबाट ६ सय १५ जना नेपालीले फर्किनका लागि अनुमति पाएका छन् । 

सरकारी उदासीनताले कोरिया जान पाएनन् श्रमिक

सरकारको ढिलासुस्तीले नेपाली कामदार कोरिया जान पाएका छैनन् । गत वैशाख १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले कोरियाबाट बिदामा आएका कामदार स्वेच्छाले फर्किन चाहे विमान चार्टर गरी कोरिया जान सक्ने निर्णय गरेको थियो । सरकारको निर्णयअनुसार गैरआवासीय नेपाली संघले चार्टरका लागि नेपाल वायुसेवा निगमलाई १० लाख रुपैयाँ अग्रिम भुक्तानीसमेत गरिसकेको छ । 

निगम र संघबीच सम्झौता भए पनि कोरिया उडानको अनुमति नपाएपछि कामदार यतै अड्किएका छन् । गैरआवासीय नेपाली संघ कोरियाका अध्यक्ष यज्ञराज सुवेदीका अनुसार विमान चार्टर गर्न श्रमिकबाट रकमसमेत उठाइसकिएको छ । त्यसमध्ये केही रकम एबोला ट्राभलको एजेन्टको नाममा ट्रान्सफर गरिएको छ । संघले कोरिया उडानका लागि प्रतिश्रमिक एक लाख १३ हजार संकलन गरेको थियो । तर, अहिले एजेन्टले भने एक लाख ५३ हजार माग्न थालेको श्रमिकको गुनासो छ । 

मिति तय भए पनि उडान अन्योलमा

नेपालस्थित एजेन्ट र कोरियन एयरलायन्सबीच २ असारमा उडान गर्ने मिति तय भएको छ । तर, सरकारले कूटनीतिकबाहेक अन्य चार्टर फ्लाइटलाई अनुमति नदिने भएपछि उडान अन्योलमा रहेको संघले जनाएको छ । दोस्रो उडानका लागि ७ असारको मिति तय भएको छ । त्यो पनि अन्योल नै छ ।

संघका अनुसार कोरिया फर्किन करिब सात सयजनाले आवेदन दिएका छन् । त्यसमध्ये १ जुनमा ५० श्रमिक कोरिया फर्किसकेका छन् ।