महन्थले नमानेपछि बाबुराम संघीय परिषद अध्यक्ष बन्नबाट रोकिए, नाममा टिपेक्स लगाएर दिइयो चौथो वरीयता

महन्थले नमानेपछि बाबुराम संघीय परिषद अध्यक्ष बन्नबाट रोकिए, नाममा टिपेक्स लगाएर दिइयो चौथो वरीयता

काठमाडौं । डेढ महिनापछि जनता समाजवादी पार्टीको एकीकरण प्रक्रिया पूरा भएको छ । अध्यादेशपछि पार्टी फुट्ने डरबीच राजपा र समाजवादी पार्टी एकीकृत भएर जनता समाजवादी पार्टी नेपाल गठन भएको थियो । आइतबार जनता समाजवादी पार्टीले दर्ता प्रक्रिया पूरा गरेको छ । 

लामो समय नेतृत्व बाँडफाँडमा विवाद भएपछि एकीकरण प्रक्रिया पूरा भएको थिएन । अध्यक्ष चयनको विवाद भएपछि दुई दलबीचको एकीकरण प्रक्रिया लामो समयसम्म अन्योलमा नै थियो । 

पूर्व राजपाका नेताहरु समाजवादीका नेताहरुलाई नेतृत्वमा सहर्ष स्वीकार गर्न सकेका थिएनन् । समाजवादीका नेताहरु राजपाका नेताहरुलाई नेतृत्वमा स्वीकार गर्न चाहिरहेका थिएनन् । 

तर, आइतबार कानुनी वाध्यताबीच दुई दलले एकीकरण प्रक्रियालाई पूर्णता दिनेगरी सहमति गरेका छन् । 

सहमति अनुसार जनता समाजवादीका दुई अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव चयन भएका छन् । दुबै कार्यकारी अध्यक्ष बनेका हुन् । विधानले परिकल्पना गरेको संघीय परिषद अध्यक्ष चयन भएको छैन । 

आइतबार दिउँसो संघीय परिषद अध्यक्षमा बाबुराम भट्टराईलाई चयन गर्ने सहमति भए पनि अन्तिम समयमा सहमति तोडिएको छ । 

संघीय परिषद् अध्यक्षमा बाबुरामलाई महन्थले अस्वीकार गरेपछि अन्तिम समयमा रोकिएको हो । महन्थले बाबुरामलाई अस्वीकार गरेपछि हालका लागि संघीय परिषदको पद स्थगनमा परेको छ । 

आइतबारको सहमति भाँडिएपछि बाबुरामलाई चौथो वरीयता दिइएको छ । पहिलो वरीयतामा महन्थ, दोस्रोमा उपेन्द्र यादव, तेस्रोमा अशोक राई र चौथोमा बाबुराम रहेका छन् । 

विवादपछि बाबुरामको नाम मर्यादाक्रममा टिपेक्स लगाइएको छ । सोही क्रम अनुसार दल दर्ता भएको छ ।