दरबारसँग अकुत सम्पत्ति थिएन

दरबारसँग अकुत सम्पत्ति थिएन

नारायणहिटीको नयाँ भवन बन्नुअगाडि राजा महेन्द्र बाहिरबाट हेर्दा सानो देखिने एकतले बङ्गलामा बस्थे । राजाका नातेदारलाई लिएर कैयौँपटक हामी त्यो बङ्गलामा जान्थ्यौँ । र, एडीसी बस्ने फलैँचामा बस्थ्यौँ । 

ढोकानिर एडीसीहरु बस्थे । उनीहरु भित्र जान पाउँथेनन् । पाहुना भित्र गएपछि हामी पनि एडीसी बस्ने जिनको खोल हालेको लम्पटमा बस्थ्यौँ । राजा पाहुनालाई ढोकामा रिसिभ गर्न नआएका बेला मात्र हामी त्यहाँ बस्न पाउँथ्यौँ । 

म अलि छुकछुके र उल्लू थिएँ । मलाई एडीसी बस्ने लम्पट साह्रै मैलो लाग्यो । हातले लम्पटमा हिर्काउँदा बुङबुङ धूलो उड्यो । र, मैले एडीसी कप्तानलाई राजा हिँड्ने करिडोरको लम्पटमा यस्तरी धूलो उड्ने के गर्नुभएको ? अलि राम्रो त हुनुपर्छ, भनेँ । 

एडीसीले जवाफ दिए, ‘राजा हिँडिरहेका बेला तपाईंले जस्तो कसले हातले हिर्काउँछ र धूलो उड्छ ?’ त्रिभुवनकालीन पुरानो भवनमा जिजुमुवा (त्रिभुवनका दुई रानी) बस्थे । पाहुना लिएर जाँदा बेलायतबाट ल्याइएको फर्निचर राखिएको तल्लो बैठकमा हामी बस्थ्यौँ । माथिल्लो तलामा जिजुमुवाहरुको बैठक थियो । त्यो कस्तो थियो ? हामी जान पाउँदैनथ्यौँ । 

तल्लो बैठकमा जर्नेल तीर्थविक्रम राणासँगैको सोफामा गएर म बस्थेँ । तीर्थविक्रम साह्रै भलाद्मी थिए । कमै व्यक्ति त्यस्ता हुन्छन् । म बसेको सोफाको कपडा मूल्यवान् भए पनि फाटेर झुत्रो भएको थियो । फाटेको ठाउँबाट हात घुसारी एक मुठी धूलो निकालेर जर्नेललाई देखाउँदै भनेँ, ‘हजुरले सरकारलाई बिन्ती गरेर बैठकलाई राम्रो बनाउनु पर्यो । राजाको घरको बैठक साधारण मान्छेको बैठकजस्तो पनि भएन ।’ 

कसैले बिन्ती चढाएर बैठक सुधार भएमा सबै पैसा त्यसमा खर्च भयो भनी जिजुमुवाहरुले बिहे–व्रतबन्धमा दिँदै आएको पनि बक्सिस नदिने चलन रहेछ । त्यसैले कसैले बिन्ती नगर्ने रहेछन् ।पछि पटकपटक जाँदा तल्लो बैठक झन्झन् गएगुज्रँदै थियो ।  दरबारमा पटकपटक जाँदा देखेसुनेका आधारमा म यतिचाहिँ भन्न सक्छु, दरबारसँग त्यति बेला अकुत सम्पत्ति थिएन ।

... 

जेठी शाहजादी शान्तिको बिहेताकाको कुरा हो । 
जिजुमुवाका बहिनीज्वाइँ राजा काशीपुरले एक दिन मलाई भने, ‘राजाको मुड कस्तो छ भने ?’ 
‘किन हजुर ?’ 

‘साथमा लिएर आएको ठेकेदारलाई अन्नपूर्ण होटलमा राखेको छु । राजालाई बिन्ती गरेर रेलवे सिल्परका लागि सालको दुई हजार रुख माग्नु छ ।’  
राजालाई पनि धेरै नातेदारका समस्या सुल्झाउनुपर्ने थियो । 

राजा त्रिभुवनका रानीद्वयका बहिनी विधवा महारानी विरापुर र उनीहरुका ज्वाइँ राजा काशीपुर नेपाल आउँदा उनीहरुलाई घुमाउन म परराष्ट्र मन्त्रालयबाट खटिएको थिएँ । उनीहरुले इन्द्रचोकमा गएर केही कपडा किन्ने इच्छा जाहेर गरे । 

मैले उनीहरुलाई इन्द्रचोकको हल्खोरीरामको पसलमा कपडा किन्न लगेँ । उनीहरुले आठ हजार रुपियाँको कपडा किने । र, त्यसको भारु कति हुन्छ भनेर सोधे । हल्खोरीरामले भारुमा कन्भर्ट गरेर लिखित कागज दिए । उनीहरु पैसा आज होइन, भोलि तिर्ने भनेर त्यो दिन पैसा नतिरीकन गए ।

सायद त्यो पैसा दिदीहरुसँग लिएर तिर्नका लागि नै भोलि भनेको हो कि जस्तो मलाई लाग्छ । त्यही रात भारु डिभ्यालुएसन भयो । सय भारुको १ सय ६० घटेर १ सय १ नेपाली रुपियाँ भयो । भोलिपल्ट गडबडीको स्थिति बन्यो । पाहुनाहरुले अघिल्लो दिन हिसाब गरेको भारु रकम नै तिर्न खोजे । उनीहरुले भनेअनुसार तिर्दा उनीहरुलाई राम्रै नाफा हुन्थ्यो । हल्खोरीरामको तर्क थियो, ‘मैले त नेपाली रुपियाँको कति भारु हुन्छ भन्दा यति भारु हुन्छ भनेर हिसाब गरिदिएको हुँ । राष्ट्र ब्याङ्कको नियमानुसार भारुमा कारोबार गर्न पाइँदैन । गरेमा सजायको भागी हुनुपर्छ । त्यसकारण मैले भारुमा कारोबार गर्ने त कुरै थिएन ।’ 

दुईथरीको विवाद भयो । म चुपचाप दर्शक भएँ । त्यत्तिकैमा दरबारका अफिसरहरुले मेरो ड्युटी टेकओभर गरे । पछि यो विषय के भयो भनेर जिज्ञासा भइरहेकाले हल्खोरीरामलाई सोधेँ । नेपाली रुपियाँ नै ढड्याएर लिएको उनले बताए । 
हल्खोरीरामको पसल ठूलोबाट सानो भए पनि उनका छोराहरुले सञ्चालन गरिरहेका छन् । 
यो प्रसङ्ग मलाई भन्दा उनीहरुलाई पनि थाहा हुनुपर्छ । 
...   

दिल्ली दूतावासमा कार्यरत हुँदा रोयल फिजिसियन डा. मृगेन्द्रराज पाण्डे र म महेन्द्रकी माइली बहिनी महारानी पुन्चलाई भेट्न गएका थियौँ । उनी एयर कन्डिसन नभएको दिल्लीस्थित साधारणभन्दा पनि साधारण बङ्गलामा बसेकी थिइन् । त्यहाँ पङ्खाले नभ्याउने गर्मी थियो ।

राणाजीको हुकुम चल्दा मोहनशमशेरकी छोरीलाई कास्मिरी राजाका छोरा करन सिंहसँग बिहे गराइएको थियो भने राणाजीकै चाँजोपाँजोमा राजा त्रिभुवनकी माइली छोरी कास्मिरको सानो राज्य पुन्चका रजौटालाई दिइएको थियो ।

दरबारको आर्थिक हैसियत यस्तो थियो । २ सय ५० वर्षमा दरबारले सय वर्ष पनि प्रत्यक्ष शासन गर्न पाएको थिएन । त्रिभुवनकी नर्स एरिकाले लेखेकी ‘द किङ इन द क्लाउड’ हेरेमा धेरै कुरा प्रस्ट हुन्छ ।
...
दरबारमा त्रिभुवनको बेलामा नमिलाईकन बनाइएको हल थियो । महेन्द्रका आमाहरु सिनेमा सोखिन थिए । उनीहरु त्यहाँ सिनेमा हेर्थे । हामी पनि कहिलेकाहीँ पाहुना लिएर जान्थ्यौँ । तर, आदेशानुसार हामी हल जाने बाटोमाथिको चौरमा बस्थ्यौँ । ‘चौरबाट बाटोतिर नओर्लनू, गारतले समात्छ’ भन्थे । 

चौरमा बसिरहँदा पट्यार लाग्थ्यो । त्यहाँ कुनै मेच थिएन । एक दिन मैले राजाले सुन्ने गरी शेरबहादुर मल्ल जर्नेललाई भनेँ, ‘हामीले पनि सिनेमा हेर्न पाए हुन्थ्यो । बिन्ती गरिदिनु पर्यो ।’  र, सिनेमा हेर्ने अनुमति मिल्यो । 

हलमा बाल्कोनी थिएन । राजपरिवार बीचको लाइनमा बस्थ्यो । हामीलाई सबभन्दा अगाडिको रोमा बस्नू, हात नचलाउनू, पछाडि नहेर्नू इत्यादि भनियो । त्यहाँ सिनेमा हेर्न बस्दा झन् कान चिलाएर, गर्दन चिलाएर हैरान । त्यो शारीरिकभन्दा पनि मनोवैज्ञानिक थियो । हल प्राविधिक रुपमा राम्रोसँग बनाएको नभई हलका लागि हल मात्र थियो ।

पर्दाको जुन छेउमा कलाकार देखिन्थ्यो, त्यतै मुन्टो बटार्नुपर्ने । त्यसले गर्दा आँखा र घाँटी दुवैलाई सास्ती ।  कुन बेलामा के दशा लागेर सिनेमा हेर्ने प्रयास गरिएछ भन्ने लागिरह्यो । धेरैजसो त आँखा चिम्लियो । 

सुनीलदत्त अभिनीत ‘बेटाबेटी’ हेरेर रातको १२ बजे दरबारबाट फर्कंदै गर्दा बाटोमा बाग्मतीका सहअञ्चलाधीश लक्ष्मणविक्रम भण्डारी भेटिए । उनीहरु रञ्जना हलमा त्यही सिनेमा सेन्सर गर्न जान लागेका रहेछन् । मलाई पनि जाऊँ भने । 

मैले दरबारमा सिनेमा हेर्न त हेरेको थिएँ । तर, के हेरेको मलाई नै थाहा थिएन । त्यसैले दोहोर्याएर त्यो सिनेमा हेर्न गएँ । 
भोलिपल्ट मेरा आँखा हेर्नै नहुने गरी सुन्निएका थिए । 
...

एक रात हामी दरबार गएको थियौँ पाहुना लिएर । 

दरबारको चौरमा बसिरहँदा हाम्रै नजिक एउटा भक्सवागन अडियो । राजा महेन्द्र र जर्नेल शेरबहादुर मल्ल निस्के । म चाकडी देखाउन भक्स वागनको नजिकै गएँ । राजा महेन्द्रले एउटा पेस्तोल र जर्नेल शेरबहादुरले एउटा पेस्तोल झिकेर गोली चेक गरे । र, फेरि मोटरभित्र चढेर राती १२ बजेतिर बाहिर निस्के । मेरो कुनै संवाद भएन ।

अघिल्लो रात पाहुनासहित दरबारबाट उनीहरु बालाजु स्विमिङ् पुल गएको कुरा हामीले भालिपल्टमात्र थाहा पायौँ । राजा महेन्द्र राती–राती बिनासेक्युरिटी निस्कन्छन् भन्ने सुनेका थियौँ । त्यस दिन त्यसको पुष्टि भयो । 

राजा महेन्द्र र जर्नेल शेरबहादुरको केमिस्ट्री पनि अचम्मको थियो । महेन्द्रले उनीतिर हेरेपछि शेरबहादुर केही न केही गरिहाल्थे । तर, महेन्द्रले अरु कुनै इसारा गरेको मैले कहिल्यै देखिनँ । कसलाई बोलाउनु पर्ने हो ? के गर्नुपर्ने हो ? महेन्द्रको एक नजर शेरबहादुरका लागि पर्याप्त थियो । तर, कसरी यो सम्भव भयो ? मैले कहिल्यै बुझ्न सकिनँ ।   
अर्को एक दिन माइला सरकार हिमालयको ताहाचलको घरमा हामी पाहुना लिएर गएका थियौँ । पाहुना सबै भित्र पसेपछि मूलढोका बन्द गरियो । भित्रबाट नाचगान गरेको र मादल बजाएको आवाज आइरहेको थियो ।

दुई पूरा कर्नेल चुत्रबहादुर र समरराज ढोकाको दुईतिरको छिद्रबाट भित्र हेरेर हामीलाई महेन्द्र सरकारले मादल बजाएर नाचेको कुरा बताउँदै थिए । अकस्मात् आफैँले ढोका खोलेर महेन्द्र बाहिर निस्के । 

दुई कुनामा बसेर भित्र चियाइरहेका उनीहरु दुवै ढोकाको खापाले हल्का हिसाबले च्यापिए ।
...
सिंहदरबारको बेलायती बैठकको रात्रीभोजमा पाहुनाहरु तोकिएको ठाउँमा बस्नुपथ्र्यो । एउटा मेच बढी पनि हुनु हुँदैनथ्यो, कम पनि हुनु हुँदैनथ्यो । त्यसका लागि टेबल प्लान बनाइएको हुन्थ्यो । र, प्रत्येक पाहुनालाई प्लानअनुसार बस्ने मेच तोकिन्थ्यो । अपवादस्वरुप कुनै मेच खाली भएमा परराष्ट्रको अफिसर जो अगाडि पर्थ्यो, उसलाई लगेर राखिन्थ्यो । त्यसैले टेबल प्लानमा विशेष ध्यान दिनुपथ्र्यो । 

एकपटक टेबल प्लानमा हेर्दा सचिव कुलशेखर शर्माकी श्रीमतीको नाम भेटिएन । म ध्यानपूर्वक नाम खोज्दै थिएँ । मानिसहरु सतर्क अवस्थामा लाइन लागेको चाल पाएँ । पछाडि फर्केर हेर्दा राजा महेन्द्र टक्क उभिएर मलाई हेरिरहेको देखेँ । 

राजालाई पछाडि पारेर हट्न नहुने भएकाले म टेबलको साइडबाट पछाडि नहेरी पछि हट्दै गएँ । दरबारका एक जना सचिवकी श्रीमतीको खुट्टामा कुल्चन पुगेछु । म पछाडिपट्टि लड्दा सबै भीआईपीका श्रीमतीहरुले थामेर मलाई लड्नबाट रोके । 

राजा महेन्द्र मुसुक्क हाँसेर गए । 
(लेखक नेपाल सरकारका पूर्वकर्मचारी हुन् ।)