काठमाडौं । युएईबाट १६८ जना नेपालीलाई स्वदेश ल्याइएको छ । एयर अरेबियाको विमानमार्फत् नेपाली फर्केका हुन् ।
विदेशमा अलपत्र परेका नागरिक उद्दार गर्ने नीति अनुसार सरकारले शुक्रबारदेखि नागरिक ल्याउन लागेको हो । शुक्रबार बिहान म्यान्मारबाट २६ नेपाली फर्किएका थिए ।
विमानस्थलका अधिकारीहरुका अनुसार उक्त विमानमा एक शव पनि ल्याइएको छ ।
नेपाली सेनाले उनीहरुलाई अहिले प्रदेशगत रुपमा विभाजन गरी होल्डिङ सेन्टरमा लगिसकेको छ । व्यवस्थापनको जिम्मेवारी सरकारले सेनालाई दिएको छ । अन्य मुलुकबाट पनि चरणवद्ध रुपमा नेपाल फर्काउने सरकारको तयारी छ ।
राससका अनुसार युएईबाट आएकामा प्रदेश नं १ का ४६, प्रदेश नं २ का २३, वाग्मती प्रदेशका ३७, गण्डकी प्रदेशका २३, प्रदेश नं ५ का २३, कर्णाली प्रदेशका चार र सुदूरपश्चिम प्रदेशका १२ जना रहेका छन् । उनीहरुलाई उपत्यकाको तोकिएको होल्डिङ सेन्टरमा लगिएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।
सरकारले काठमाडौँको यती पार्टी प्यालेस वसुन्धरा, स्काईजन पार्टी प्यालेस सुकेधारा र कुण्डलिनी पार्टी प्यालेस वसुन्धारालाई होल्डिङ सेन्टर बनाएको छ । जगेडाका रुपमा मिराकल पार्टी प्यालेस सुकेधारालाई तयारी अवस्थामा राखिएको छ ।
काठमाडौँमा रहेका होल्डिङ सेन्टरमा वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का नागरिकलाई छुट्टाछुट्टै रुपमा राखिनेछ । भक्तपुरमा एक हजार क्षमताका दुई पार्टी प्यालेसलाई होल्डिङ सेन्टर बनाइएको छ । जसमा सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित इम्पेरियर बैंक्वेट र मध्यपुरथिमि नगरपालिका–४ स्थित हेरिटेज बैंक्वेट रहेको छ । यहाँ प्रदेश नं १ र २ का नागरिकलाई छुट्टाछुट्टै रुपमा राखिने छ । ललितपुरमा ९०० जनाका लागि डिलाईट पार्टी भेन्यू महाक्ष्मीस्थान र मण्डला पार्टी भेन्यू खरिबोट ग्वार्काेमा होल्डिङ सेन्टर बनाइएको छ ।
जगेडाका रुपमा सिद्धार्थ कलेज धोबीघाट तयार पारिएको छ । यहाँ कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिक राखिने छन् ।