कोरोना सङ्क्रमितसंगै बस चढेका नगरप्रमुख क्वारेन्टाइनमा

कोरोना सङ्क्रमितसंगै बस चढेका नगरप्रमुख क्वारेन्टाइनमा
तस्बिरः मेयर श्रेष्ठकाे फेसबुक

भद्रपुर । झापा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ बिहीबारदेखि क्वारेन्टाइनमा बसेका छन्।

नगरप्रमुख श्रेष्ठसंगै उनका चालक र सहयोगी समेत क्वारेन्टाइनमा बसेका हुन्।

भद्रपुरको कलबलडुडी क्वारेन्टाइनमा भएका ९ जनाको रिपोट नेगेटिभ आयो भन्ने सूचना प्राप्त भएपछि उनीहरुलाई घरसम्म पुर्याउन बस लिएर कलबलगुडी पुगेर ती ९ जनालाई बसमा हालेर श्रेष्ठ पनि सोही बसमा चढेका थिए।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठका अनुसार नगरप्रमुख श्रेष्ठ होम क्वारेन्टाइनमा बसेका छन्।

घर/घरमा पुर्याउँदै गर्दा ती ९ जनामध्ये तीन जनामा कोरोना भाइरसको संक्रमण छ भन्ने खबर आएको थियो।

भद्रपुर नगरपालिकाको लापरवाहीले बिहिबार तीन जना संक्रमित रिपोर्ट आउनु अघि नै घर पुगेर पुनः क्वारेन्टाइनमा फर्किए।

नेगेटिभ रिपोर्ट आएकाहरु घर/ घर पुगेका छन्। तर बसमा संगै यात्रा गरेका हुनाले तिनीहरुमा पनि सङ्क्रमण सरेको हुनसक्ने संभावना छ।

ती ६ जनामध्ये दुईजनालाई पुनः क्वारेन्टीमा ल्याउन लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठले बताए।