स्वास्थ्य सामग्री कालोबजारी गर्नेलाई जरिवाना

स्वास्थ्य सामग्री कालोबजारी गर्नेलाई जरिवाना

राँझाः कोरोना महामारी सङ्क्रमण रोकथाममा अत्यावश्यक स्वास्थ्य सामग्रीमा कालोबजारी गर्ने नेपालगञ्जका दुई औषधि पसललाई जरिवाना गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा रहेको संयुक्त बजार अनुगमन टोलीले नेपालगञ्ज न्यूरोडमा रहेको ग्लोबल साइन्टिफिक कर्पोरेशनलाई रु दुई लाख र बिपी चोक नजीक रहेको नेपालगञ्ज सर्जिकल्सलाई रु ६० हजार जरिवाना गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका निमित्त प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार  कर्पोरेशनले केएन ९५ मास्कलाई ३३ प्रतिशत मुनाफा लिएर बिक्री गरेको र इन्फारेड थर्मोमिटर व्यवसायीहरुको मिलोमतोमा मूल्यवृद्धि गरेको पाइएकाले तथा सर्जिकल्सले व्यक्तिगत सुरक्षा कवच (पीपीएई)मा बढी मूल्य लिएर कालोबजारी गरेको पाइएपछि तत्कालका लागि  जरिवाना गरिएको हो  ।

बन्दाबन्दी अवधिमा नेपालगञ्जमा मात्रै संयुक्त अनुगमन टोलीले पाँच औषधि पसललाई कारवाहीस्वरुप जरिवाना गरिसकेको उपभोक्ता संरक्षण मञ्चका केन्द्रीय सदस्य वसन्त गौतमले जानकारी दिए ।