लकडाउन परिमार्जन गर्नेबारे प्रधानमन्त्रीले गरे विज्ञसँग परामर्श, चार घण्टाभन्दा लामो छलफलमा विज्ञले दिए यस्ता सुझाव

लकडाउन परिमार्जन गर्नेबारे प्रधानमन्त्रीले गरे विज्ञसँग परामर्श, चार घण्टाभन्दा लामो छलफलमा विज्ञले दिए यस्ता सुझाव

काठमाडौं कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा बन्दाबन्दीका अवस्थामा आर्थिक र सामाजिक गतिविधिलाई सहज बनाउन आर्थिक र स्वास्थ्य क्षेत्रका विज्ञले सुझाव दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको छलफलमा कोरोना सङ्क्रमित दुई हजार नाघेका अवस्थामा सीमित स्रोतसाधनबाट उपचार र सचेतनाका लागि अपनाउनुपर्ने र आर्थिक गतिविधिलाई  क्रमशः अगाडि बढाउन अपनाउनुपर्ने थप रणनीतिका विषयमा विज्ञले सुझाव दिएको जनाइएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले विभिन्न क्षेत्रका २५  विषयविज्ञको सहभागितामा सम्पन्न परामर्श बैठक उपलब्धिमूलक र फलदायी भएको जानकारी दिए ।

करीब चार घण्टा चलेको छलफलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालसहित उच्च अधिकारी एवं अर्थ र स्वास्थ्यविज्ञ तथा सामाजिक अभियानकर्मी सहभागी थिए ।

सरकारले यही जेठ ३२ गतेसम्म बन्दाबन्दी कायम गरेको र यहीबीचमा भारतलगायत तेस्रो मुलुकमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउने योजना सार्वजनिक गरेको छ ।  आर्थिक र सामाजिक गतिविधिलाई क्रमशः सञ्चालन गराउनुपर्ने दबाब पनि सरकारलाई बढेको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि गत चैत ११ गतेदेखि बन्दाबन्दी कायम रहँदा उद्योग, व्यवसायका साथै श्रमिक वर्ग प्रभावित भई मुलुकको आर्थिक गतिविधिमै असर परिरहेको छ ।