राजनीतिमा प्रवेश गर्ने मनिषा कोइरालाको तयारी

राजनीतिमा प्रवेश गर्ने मनिषा कोइरालाको तयारी

काठमाडौं । नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर मुलुकको राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको विषयलाई समर्थन गरेपछि सामाजिक सञ्जालमा भाइरल हुन पुगेकी अभिनेत्री मनिषा कोइराला राजनीतिक क्षेत्रमा प्रवेश गर्ने तयारीमा रहेको चर्चा छ । नयाँ नक्साबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली गरेको ट्वीटमा रिट्वीट गरेकी मनिषाविरुद्ध भारतीय मिडिया लागेपछि उनको देशभक्तिको रुपमा सामाजिक सञ्जालमा तारिफ भयो । मंगलबार मात्र नेपाल आएकी मनिषालाई राजनीतिमा आउन सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले आग्रह गरिरहेका छन् । 

बलिउडमा कुनै समय राम्रो नाम कमाएकी मनिषा हाल चलचित्र क्षेत्रमा सक्रिय छैनन् । सीमा विवादका कारण भारतमा चर्को आलोचना भएपछि उनी राजनीतिमा प्रवेश गर्ने योजनाकै साथ नेपाल आएको उनीनिकट स्रोतले जानकारी दियो । राजनीतिमा प्रवेश गर्ने माहोल भनेकोले उनलाई पारिवारिक रुपमा पनि राजनीतिमा प्रवेश गर्न दवाव आएको थियो ।  

राजनीतिक घरानाकी मनिषाका हजुरबुवा वीपी कोइरालाको  विरासत जोगाउन पनि उनी राजनीतिमा आउनुपर्ने भन्दै उनका समर्थकहरुले उर्जा दिइरहेका थिए । त्यसो त मुलुकको परिवर्तनमा कोइराला परिवारको ठूलो योगदान रहेको छ । कोइराला परिवारले राणा शासन, पञ्चायत र राजतन्त्रको अन्त्य गर्दै मुलुकमा बहुदलीय व्यवस्था, प्रजातन्त्रदेखि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न ठूलो योगदान दिएको छ । 

कोइराला परिवारबाट अहिले  राजनीतिमा सुजता कोइराला, डा। शेखर कोइराला र डा शशांक कोइराला सक्रिय छन् । उनीहरु राजनीतिमा रहेको कोइराला परिवारको विरासत जोगाउन लागिपरेका छन् । तर, यही बेला वीपीकी नातिनी, प्रकाश कोइरालाकी छोरी अभिनेत्री मनिषा कोइराला नेपालमा राजनीतिमा आउने चर्चाले उनका समर्थकहरु उत्साही देखिएका छन् ।