भारतमा चर्को आलोचना भएपछि नेपाल प्रवेश गरिन् अभिनेत्री मनीषा कोइराला

भारतमा चर्को आलोचना भएपछि नेपाल प्रवेश गरिन् अभिनेत्री मनीषा कोइराला

काठमाडौं । चलचित्र अभिनेत्री मनीषा कोइराला मङ्गलबार रुपन्देहीको सीमा नाका भैरहवाको बेलहियाबाट नेपाल प्रवेश गरेकी छिन् । परिवारका सदस्यसहित बेलहिया नाकाबाट स्वदेश प्रवेश गरेपछि उनी काठमाडौं प्रस्थान गरेकी छिन् । उनीसँगै निजी गाडीमा परिवारका सदस्यसमेत रहेको बताइएको छ ।

भारतीय भूमिबाट नेपाल प्रवेश गर्नु पहिले सीमामा स्वास्थ्यकर्मीले अभिनेत्री कोइराला र उनका परिवारको स्वास्थ्य परीक्षण गरेका थिए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भने, ‘उहाँ बेलहिया नाकाबाट नेपाल आउनुभएको जानकारी पाएको हुँ तर कहाँ बस्नुभएको छ भन्ने जानकारी छैन ।’

नेपाली सेना पश्चिम पृतनाका प्रवक्ता प्रेम थापाले सेनालाई अभिनेत्री कोइरालासहितको परिवारको आगमन विषयमा कुनै जानकारी नभएको तर उहाँहरु काठमाण्डौ प्रस्थान गरेको सूचना भने पाएको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले पनि कोइराला परिवार नेपाल प्रवेश गरेको पुष्टि गरे ।

नेपाल भारत सीमा विवाद चलेका बेला नेपाली राष्ट्रियताका पक्षमा सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिले नेपालमा कोइरालाको प्रशंसा भइरहेको छ । भारतीय मिडिया भने उनको विरुद्ध प्रचारबाजीमा अत्रिएका थिए । भारतमा असुरक्षित महशुस गरेर कोइराला नेपाल प्रवेश गरेको हुनसक्ने आँकलन गरिएको छ ।  कोइरालाले भारत र नेपाली चलचित्रमा दशकौँदेखि अभिनय गर्दै आएकी छिन् ।