संघीयता खारेजी माग राख्दै जनमोर्चाले संविधान संशोधन प्रस्ताव दर्ता गर्ने

संघीयता खारेजी माग राख्दै जनमोर्चाले संविधान संशोधन प्रस्ताव दर्ता गर्ने

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीले संघीयता खारेजीको माग गर्दै संविधान संशोधनको प्रस्ताव दर्ता प्रक्रिया अघि बढाएको छ । जनमोर्चाले संघीयतासम्बन्धी सम्पूर्ण प्रावधान खारेजीको माग गर्न आवश्यक प्रक्रियाबारेमा मंगलबार संसद सचिवालयमा पुगेर जानकारी लिएको छ ।  

जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलका अनुसार आवश्यक सबै प्रक्रिया पूरा गरेर भोलि संसद सचिवालयमा संशोधन विधेयक दर्ता गर्ने तयारी छ। ‘नेपालको संविधान २०७२ मा उल्लिखित संघीयतासम्बन्धी सबै प्रावधान हटाउन प्रस्ताव दर्ता गर्न लागिएको हो,’ उनले भनिन्, ‘भोली हामी यो प्रस्ताव दर्ता गरिछोड्छौँ।’  संशोधन प्रस्तावको प्रक्रियाबारे बुझ्‍न राजमोका अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष पौडेल, अखिल नेपाल कानुन व्यवसायी संघका महासचिव अधिवक्ता लक्ष्मणदेव पाण्डेलगायतको टोली संसद सचिवालय गएको थियो ।   

नेपालको संविधानमा रहेका समावेशिता, समानुपातिक प्रणाली, धर्म निरपेक्षता, गणतन्त्र जस्ता विषयलाई आफ्नो पार्टीले समर्थन गरेको तर संघीयताले देशको राष्ट्रियता कमजोर हुँदै गएकोले संशोधन प्रस्ताव लैजान लागिएको पौडेलले बताइन्। राजमोले संघीयताका कारण जनतालाई चर्को बोझ परेको भन्दै संविधान संशोधनको प्रस्ताव दर्ता गर्न लागेको पौडेलले जानकारी दिइन्। 

यसअघि राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीले  संविधान संशोधन विधेयक दर्ता गरेका छन् नयाँ नक्सालाई संवैधानिक मान्यता दिन सरकारले ल्याएको विधेयकलाई संसदबाट टुङ्ग्याउनुअघि राजपा र समाजवादी पार्टीले अर्को गैर सरकारी विधेयक दर्ता गरेका हुन् । 

सोमबार राजपा नेता लक्ष्मणलाल कर्ण र समाजवादी पार्टीेका नेता राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरी संविधान संशोधन विधेयक दर्ता गराएका हुन् । मधेस केन्द्रित दलहरुले मधेसका माग संबोधन गर्न संविधान जारी हुनुअघिदेखि संविधानका कतिपय विषय संशोधन हुनुपर्ने माग गर्दै आएका थिए । विधेयक दर्ता गर्नुको उद्देश्य आफूहरुले उठाउँदै आएका माग संविधानमा समावेश गर्न सरकारलाई दबाब दिनु रहेको राजपा र समाजवादीका नेताहरुले बताएका छन् ।