वनारसबाट स्याङ्जा आएका एकजनाको क्वारेन्टाइनबाट डिस्चार्ज भएलगत्तै निधन

वनारसबाट स्याङ्जा आएका एकजनाको क्वारेन्टाइनबाट डिस्चार्ज भएलगत्तै निधन

पोखरा । कोरोनाको पीसीआर परिक्षण नेगेटिभ आएपछि डिस्चार्ज भएका एक व्यक्तिको घर जाँदै गर्दा बाटोमा निधन भएको छ । स्याङ्जाको फेदिखोला गाउँपालिकाका ५१ वर्षीय खड्कबहादुर कार्की जेठ १३ गते वनारसबाट आएका थिए । वनारसबाट फर्केपछि गाउँपालिकाको क्वारेन्टाइनमा बसेका उनको १६ गते स्वाब संकलन गरिएको थियो । १८ गते उनको पीसीआर नतिजा नेगेटिभ आयो ।

पीसीआर नेगेटिभ आएपछि क्वारेन्टाइनबाट उनी डिस्चार्ज भए । डिस्चार्जपछि घर जाने क्रममै उनी बाटोमा ढले । उनलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याइयो । उनको अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी नारायण आचार्यले जानकारी दिए ।

आइतबार साँझ उनको अस्पतालमा मृत्यु भएपछि थप परीक्षणका लागि स्वाब पुनः संकलन गरिएको उनले बताए । दोस्रो पीसीआरको नतिजा आजै आउने जनाइएको छ । मृतक कार्कीले उच्च रक्तचाप र मुटुको औषधि पनि सेवन गरिरहेको उनका भाइलाई उद्धृत गर्दै गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख खिलाप्रसाद पौडेलले जानकारी दिए । मृतकको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै राखिएको छ ।