कोरोनाबाट भन्दा आत्महत्याबाट ज्यान गुमाउने बढेंः लालबाबु पण्डित

कोरोनाबाट भन्दा आत्महत्याबाट ज्यान गुमाउने बढेंः लालबाबु पण्डित

काठमाडौं । नेकपा सांसद लालबाबु पण्डितले लम्बिदो लकडाउनका कारण कोरोनाबाट ज्यान गुमाउने भन्दा पनि आत्महत्या गर्ने दशौंगुणा बढी रहेको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै यसबारमा संघीय सरकारको ध्यानाकर्षण गराँउदै स्थानीय तहमा उचीत क्वारेन्टाइन नभएको बताए । 

सांसद पण्डितले स्थानीय तहले क्वारेन्टिन व्यवस्थापन गर्न नसकेको भन्दै सङ्घीय सरकारलाई थप सहयोग गर्न माग पनि गरे । 

शून्य समयमा बोल्दै अर्का सांसद विनाकुमारी श्रेष्ठले लिम्पियाधुरा सहित जारी नेपालको नक्सा कायम गर्ने, संविधान संसोधन कार्यमा नेपाली कांग्रेसले पनि समर्थन गरेर राष्ट्रिय एकता कायम गरेकोमा धन्यवाद दिइन् । उनले रुकुम पश्चिममा भएको जातीय घटनाको छानविन गर्न पनि माग गरिन् । 

यस्तै सांसद शशी श्रेष्ठले आज लकडाउनको ६९ दिन पुगेको बताउँदै जनताले कठिन समस्या भोग्नुपरेको बताइन् । उनले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार निश्चित दुरी कायम गरी लकडाउन खुकुलो बनाई जनजीवन सहज र व्यवस्थित गर्न माग गरिन् । लकडाउनले अर्थतन्त्रमा नकारात्मक प्रभाव परेकोले आत्मनिर्भर बन्न उत्पादन बढाउने र बिचौलिया समस्या समाधान गर्ने कुरामा जोड दिइन् । 

सांसद शान्ता चौधरीले रुकुममा प्रेमकै कारण मृत्युवरण गर्नु दुःखद कुरा रहेको बताउँदै  अझ जातका आधारमा हत्या हुन दुःखद भएको बताइन् । उनले अपराधन जन्य घटनाका दोषीलाई कारवाही गर्न पनि माग गरिन् । 

अर्का सांसद शान्तिमाया तामाङले जातीयताका कारणले रुकुममा भएको घटना दुर्भाग्यपूर्ण भएको भन्दै दोषीलाई कारवाही गर्न माग गरिन् । उनले लिम्पियाधुराको विषयमा राष्ट्रिय सहमति बनाएकोमा नेपाली कांग्रेसलाई धन्यवाद समेत दिन् ।