नेकपा सचिवालयकाे निष्कर्षः एमसीसी संसदबाट अनुमोदन नभएसम्म केही नगर्नु

निर्णयबारे जानकारी दिँदै प्रवक्ता श्रेष्ठ ।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले बहुचर्चित मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसद्बाट अनुमोदन नभएसम्म कुनै पनि अघि नबढाउन निर्देशन दिने निर्णय गरेकाे छ ।

शनिबार विहान बसेकाे नेकापा सचिवालय बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली मार्फत  सरकारलाई निर्देशन दिने निर्णय गरेकाे हाे ।

आगामी आर्थिक वर्षकाे बजेटको अनुसूचीमासमेत एमसीसीकाे विषय समेटिएपछि नेकपामा विवाद सुरु भएकाे थियाे । साेही विवाद मत्थर पार्न शनिबार सचिवालय बैठक डाकिएकाे थियाे । उक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य भीम रावललाई पनि बोलाइएको थियो ।

अहिले संसदबाट एमसीसी अनुमाेदन नभइसकेकाले सम्झौताका बाँकी काम प्रधानमन्त्रीले तत्काल अघि नबढाउने निर्देशन दिने निष्कर्ष रहेकाे पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

‘एमसीसीका बारेमा मुख्यतः बजेटमा प्रस्तुत अनुसूचिमा राखिएको एमसीसीको योजनाका बारेमा आवश्यक स्पष्टताका निम्ति छलफल भएको छ’ प्रवक्ता श्रेष्ठले भने, ‘प्रस्ताव अहिले संसदमा विचाराधीन छ । त्यसैले बजेटको व्यवस्था पनि त्यही अनुसार हुने कुरालाई स्पष्ट पारिने अर्थात प्रधानमन्त्रीले संसदलाई जानकारी गराउनु भएअनुसार नै एमसीसी सम्झौता अनुमोदन भएको खण्डमा त्यस अनुसार हुनेछ ।’