मंसिरमा प्रधानमन्त्री बालेनको भारत भ्रमण होला? परराष्ट्रले दियो यस्तो जवाफ

मंसिरमा प्रधानमन्त्री बालेनको भारत भ्रमण होला? परराष्ट्रले दियो यस्तो जवाफ

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका बेला परराष्ट्र मन्त्रालयले भ्रमणको अन्तिम मिति अझै तय भइनसकेको स्पष्ट पारेको छ।

शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले प्रधानमन्त्री साहको भारत भ्रमणको मिति तय भइनसकेको जानकारी दिएका हुन्। पछिल्लो समय मंसिर ७ र ८ गते भ्रमण हुन लागेको भनी सार्वजनिक भएका समाचारका बिच मन्त्रालयको यो स्पष्टीकरण आएको हो।

प्रवक्ता क्षेत्रीका अनुसार भ्रमणका लागि आवश्यक गृहकार्य र तयारी भने निरन्तर भइरहेको छ। नेपाल र भारत दुवै पक्षलाई अनुकूल हुने समयमा उच्चस्तरीय भ्रमण हुने र मिति निश्चित हुनासाथ सार्वजनिक गरिने उनले बताए।

"दुवै पक्षलाई अनुकूल हुने समयमा प्रधानमन्त्रीज्यूको भ्रमण हुने नै छ। उच्चस्तरीय भ्रमणको तयारी परराष्ट्र मन्त्रालयबाट भइरहेकै हुन्छ," प्रवक्ता क्षेत्रीले भने, "अहिले भ्रमणको मिति तय भइसकेको छैन। मिति तय भइसकेपछि आधिकारिक जानकारी गराउने नै छौँ।"

प्रधानमन्त्री साहले पद सम्हालेदेखि नै उनको भारत भ्रमणको चर्चा चल्दै आएको भए पनि औपचारिक मिति भने अझै घोषणा हुन सकेको छैन।

छुटाउनुभयो कि ?