अमेरिकन आइडलको शीर्ष ७ मा दिवेश पोखरेल

अमेरिकन आइडलको शीर्ष ७ मा दिवेश पोखरेल

आर्थर गनको नामबाट अमेरिकन आइडलमा प्रतिष्पर्धा गरिहेका नेपाली युवक दिवेश पोखरेल प्रतिष्पर्धाको शीर्ष ७ मा उक्लिएका छन् । आइतबार ‘इन्टरनेशनल मदर्स दे’ को अवसरमा दिवेशले आमाको ममता झल्काउने बोन आइभरको निकै चर्चित गीत ‘हे, मा’ गीत गाएका थिए । यसपटकको उनको प्रस्तुतीमा उनीसँगै उनका आमा र बुवा पनि देखिएका छन् ।

अमेरिकन आइडलको अडिसनदेखि नै आर्थरले निर्णायकहरुको अत्यधिक तारिफ पाउँदै आएका छन् । शीर्ष ७ मा आइपुग्दासम्म उनको तारिफको क्रम जारी छ । निर्णायकमध्येका एक लुक ब्रायनले उनले असाध्यै राम्रो प्रस्तुती दिएको भन्दै प्रतिक्रिया दिएका छन् ।

अर्की निर्णायक केटी पेरीले ठट्टा गर्दै भनिन्, ‘आर्थर, मैले आफूसँग सानो तिनकुने टिस्यू तयार पारेर राखेकी छु किनभने आमाको लागि डेडिकेट गरिएको यो कार्यक्रममा म जतिबेला पनि टुट्न सक्छु ।’ उनले आर्थरको तारिफ गर्दै भनिन्, ‘तिमीले कति राम्रोसँग गायौ । तिमी आफू एक व्यावसायिक संगीतकर्मी हौ भनेर प्रमाणित गरिरहेको छौ । वाउ ।’

दिवेशले पनि अमेरिकन आइडलको आफ्नो यात्रालाई ठूलो अवसर बताउँदै यसलाई आफूले बुढ्यौलीसम्म पनि नबिर्सने बताएका छन् ।