क्यानाडा : क्यानाडाको नोभा स्कटिया प्रान्तमा प्रहरीको वेशमा आएका एक बन्धुकधारीले अन्धाधुन्ध गोली प्रहार गरी आइतबार १६ जनाको हत्या गरेका छन् । प्रहरीका अनुसार कोरोनाभाइरसका कारण लकडाउन गरिएकाले मानिसहरु घरभित्र रहेकै समयमा ती व्यक्ति घरघरभित्र प्रवेश गरेर मानिसलाई गोली प्रहार गरेका र कतिपय घरमा आगो समेत लगाइदिएका थिए ।
क्यानाडाको इतिहासमा सबैभन्दा विभत्स मानिएको यस घटनामा संलग्न व्यक्ति पनि प्रहरी कारबाहीमा मारिएको प्रहरीले जनाएको छ । मारिएका व्यक्तिमध्ये एक जना प्रहरी अधिकृत पनि रहेका छन् । हेलिफ्याक्सबाट उत्तरतर्फ करिब १०० किलोमिटरको दुरीमा रहेको सानो ग्रामीण शहर पोर्टापिकमा उक्त घटना भएको हो । प्रहरीका अनुसार एउटा सानो घरभित्र र बाहिर सबैभन्दा बढी मानिसका शव भेटिएका थिए । घटनालगत्तै प्रहरीले स्थानीयवासीलाई घरभित्रै बस्न र घरका ढोकामा ताला लगाउन अनुरोध गरेको थियो ।
क्यानाडा सहित यो ठाउँ पनि कोरोनाभाइरस महामारीका कारण लकडाउनको अवस्थामा छ । प्रहरीले बन्धुकधारी ५१ वर्षीय ग्याब्रिएल वोर्टम्यान भएको बताएको छ । उनी पनि पोर्टापिककै अस्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ । उनले प्रहरीको पोशाक लगाउनुका साथै रोयल क्यानेडियन लेखिएको प्रहरी कारमा सवार थिए । “यो हाम्रो प्रान्तको इतिहासमा भएको हिंसाको सबैभन्दा विभत्स घटना हो,” नोभा स्कटियाका प्रमुख स्टिफन म्याकनीलले बताउनुभयो ।
क्यानेडियन प्रहरीका प्रवक्ता डानियल ब्राइनले उक्त संदिग्धका अतिरिक्त १६ जनाको मृत्यु भएको पुष्टी गर्नुभयो । क्यानाडामा सामूहिक गोलीकाण्डका घटना कमै हुने गरेका छन् । सन् १९८९ मा मोन्ट्रियलको इकोल पोलिटेक्निक कलेजमा बन्दुकधारी मार्क लेपिनले १४ जना महिलाको हत्या गरेपछि क्यानाडाले आफ्नो बन्दुक नियन्त्रण कानुनमा संशोधन गरेको थियो । क्यानाडामा अहिले दर्ता नभएका ह्यान्डगन (हाते बन्दुक) वा एकै पटक धेरै गोली हान्न सक्ने (आरपिडब्लु) स्वचालित हतियार राख्न अवैध बनाइएको छ । हतियार किन्नुअघि पर्याप्त प्रशिक्षण, व्यक्तिगत जोखिम मूल्याँकन, दुई जनाको सिफारिस, पति वा पत्नीलाई पूर्व जानकारी तथा फौजदारी रेकर्डको जाँच गरिन्छ ।
उक्त घटनालगत्तै प्रधानमन्त्री जस्टिन ट्रुडोले एउटा हस्तलिखित विज्ञप्ति प्रकाशन गरी “एक देशको रूपमा, यस्ता क्षणहरूमा हामी एक अर्कालाई सहयोग गर्न एकताबद्ध हुन्छौं । हामी सबै पीडित परिवारको साथमा छौं, उनीहरूलाई यो कठिन समयमा सहयोग गर्नेछौं” भन्नुभएको छ । प्रहरी प्रमुख क्रिस लिथरले घटनाको मुख्य उद्देश्य अनुसन्धानको क्रममा रहेको जानकारी दिनुभयो । उहाँले अहिलेसम्मको अनुसन्धानले घटनामा एक व्यक्ति मात्र संलग्न रहेको देखिएको बताउनुभयो ।