एजेन्सी : भारतमा आजबाट लकडाउन खुकुलो भएको छ । तर, कोरोना भाइरसको जोखिम नभएको स्थान र अत्यावश्यक क्षेत्रको प्रयोग र संचालनमा लकडाउन खुकुलो गरिएको हो ।
भारत सरकारले अत्यावश्यक र महत्वपूर्ण काम गर्न छुट दिइने गरी निर्देशिका बताएर लकडाउन खुकुलो पारेको हो । भारतको गृह मन्त्रालयले दोस्रो चरणको लकडाउन शुरु भएपछि निर्देशिका जारी गरेको थियो जुन ८ वैशाखदेखि लागू गरिएको छ ।
निर्देशिका अनुसार स्वास्थ्य सेवालाई पहिलो नम्बरमा राखेर अस्पताल, औषधी पसल, औषधी निर्माण कम्पनि खोल्न दिइने भनिएको छ । दोस्रो नम्बरमा कृषिलाई राखेर कृषिसँग सम्बन्धित गतिविधि गर्न दिइने उल्लेख छ । कृषि उत्पादन, बिजारोपण, माछापालन, दुग्ध उत्पादन र विक्रीलगायत गर्न दिइने भनिएको छ ।
तेस्रो नम्बरमा वित्तिीय क्षेत्रलाई राखेर बैंक, इन्सुरेन्स कम्पनिलगायतको सेवा सुचारु गर्न दिइने उल्लेख छ । चौंथो नम्बरमा सामाजिक क्षेत्रका बाल गृह, मानसिक समस्या भएका, वृद्धाश्रम संचालन गर्न छुट दिने उल्लेख छ । पाचौं नम्बरमा सार्वजनिक आवश्यकताका पेट्रोल पम्प, ग्याँस, इन्टरनेट, टेलिफोन, हुलाक संचालन गर्न दिने भनिएको छ ।
छैंठोमा ढुवानी छुट दिइने उल्लेख छ । रेल, हवाई, जलमार्गबाट कार्गो संचालन गर्न दिइने छ । सामान ढुवानीमा ट्रक संचालन गर्न दिइने छ र त्यसमा दुई ड्राइभर र एक सहयोगी चढ्न पाउनेछन् । अत्यावश्यक सेवामा खाद्यान्न, तरकारी, फलफूल, दुध, माछामासुका पसलहरु संचालन गर्न दिइने भनिको छ । प्रिन्ट र इलेक्ट्रोनिक मिडिया संचालन गर्न दिइएको छ ।