देउवाको घोषणा : न सभापति बन्छु, न प्रधानमन्त्री

देउवाको घोषणा : न सभापति बन्छु, न प्रधानमन्त्री

सुर्खेत । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले नेपाली कांग्रेसको आधिकारिकता आफूहरूकै पक्षमा आउने दाबी गरेका छन् । आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित आफ्नो समूहको प्रदेशस्तरीय अधिवेशनलाई सम्बोधन गर्दै देउवाले संविधान, पार्टी विधान र न्यायालयको निर्णयबाट आफूहरूले नै आधिकारिकता पाउने विश्वास व्यक्त गरेका हुन् ।

सम्बोधनका क्रममा देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवाद हाल अदालतमा विचाराधीन रहेकाले त्यसमा धेरै बहस नगर्ने उल्लेख गरे । यद्यपि, अदालतबाट न्याय मिल्नेमा आफू विश्वस्त रहेको बताउँदै उनले भने, "नेपालको संविधान र कांग्रेसको विधान अनुसार आधिकारिकता हामीले नै पाउँछौँ । अहिले कांग्रेसको सभापति म नै हुँ, महाधिवेशनपछि अर्को साथी सभापतिको रूपमा आउनुहुन्छ ।"

यसैगरी, देउवाले आगामी दिनमा आफू पार्टी सभापति वा प्रधानमन्त्रीको दौडमा नरहने घोषणा समेत गरेका छन् । पार्टी र जनताले आफूलाई पाँच पटकसम्म प्रधानमन्त्री बनाएर धेरै दिइसकेको उल्लेख गर्दै उनले अब आफूलाई कुनै पदको लोभ नरहेको बताए । "यो पार्टी र देशका जनताले मलाई धेरै दिइसक्नुभयो, अब मैले देश र जनतालाई दिन बाँकी छ," देउवाले भने, "अब म फेरि न त पार्टी सभापति बन्छु, न त प्रधानमन्त्री नै ।"

उक्त प्रदेश अधिवेशनमा नेता डा. शशांक कोइराला लगायतका नेताहरूले पनि आ-आफ्नो धारणा राखेका थिए । यसअघि देउवा समूहको सुर्खेत जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ, जसबाट ललित भट्टराई जिल्ला सभापतिमा निर्विरोध निर्वाचित भएका थिए । सोही समूहले कर्णाली प्रदेशको सभापति पनि सर्वसम्मत रूपमा चयन गर्ने तयारी भइरहेको जनाएको छ ।