एजेन्सी: कोरोनाभाइरसको संक्रमणबाट कारागारमा स्वास्थ्य संकट उत्पन्न हुन सक्ने भन्दै म्यान्मारको राष्ट्रपति कार्यालयले म्यान्मार कारागारमा रहेका झण्डै एक तिहाई कैदीलाई मुक्त गर्न लागिएको छ।शुक्रबार म्यान्मारको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा नयाँ वर्षको अवसरमा राष्ट्रपतिले विभिन्न जेलमा रहेका २४ हजार ८९६ जनालाई रिहा गर्न आदेश दिइएको उल्लेख छ । विज्ञप्तिमा आममाफी पाएका ८७ जना विदेशी नागरिकलाई उनीहरुकै देश फिर्ता गरिने जनाइएको छ ।
म्यान्मारमा कारागारको क्षमताभन्दा ठूलो संख्यामा कैन्दीबन्दी थुनामा रहेका छन् । सामान्यतया अप्रिलको नयाँ वर्षका अवसरमा म्यान्मारमा ठूलो संख्यामा कैदीबन्दीको बाँकी कैद मिनाहा गरी रिहा गर्ने प्रचलन छ । तर, यसपटक कोरोनाभाइरसका कारण अहिलेसम्मकै ठूलो संख्यालाई एकैपटक मुक्त गर्न लागिएको हो ।जेलभित्र कोरोना संक्रमण फैलन सक्ने भन्दै संयुक्तराज्य अमेरिका, युरोपका केही मुलुक, कोलम्बिया समेतका धेरै मुलुकले बन्दीहरुलाई रिहा गरिरहेका छन् ।
कैदीबन्दीको रिहाई तत्कालै शुरु हुने कारागार विभागका एक जना वरिष्ट अधिकारीले एएफपीलाई बताउनुभयो । म्यान्मारका जेलमा हाल झण्डै एक लाख कैदीबन्दी छन् । एचआरडब्लुका अनुसार म्यान्मारका जेलको क्षमता करिब ६२ हजार मात्र छ ।
म्यान्मारको सरकारी विवरणमा हालसम्म कोविड–१९ बाट ८५ जनामा कोराना संक्रमण देखिएको र चार जनाको मृत्यु भएको उल्लेख छ । तर स्वास्थ्य परीक्षणको अवस्था नाजूक रहेकाले योभन्दा बढी संख्यामा मानिसहरु कोरोनाभाइरसबाट संक्रमित रहेको विज्ञहरुको दाबी छ ।कोरोना संक्रमण फैलिन नदिन हाल देशव्यापी लकडाउन जारी छ र ह्युमन राइट्स वाच (एचआरडब्लु) ले निकै भिड देखिने म्यान्मारका कारागारमा थुनिएका कैदीबन्दीलाई तत्काल रिहा गर्न आग्रह गरेको छ ।