अमेरिकाले डब्लूएचओलाई आर्थिक सहयोग नगर्ने

अमेरिकाले डब्लूएचओलाई आर्थिक सहयोग नगर्ने

अमेरिका : चीनमा कोरोना भाइरस देखिएपछि त्यसको संक्रमणसम्बन्धी विषयलाई डब्लूएचओले सही ढंगले व्यवस्थापन गर्न नसकेको भन्दै अमेरिकाले डब्लूएचओलाई दिँदै आएको आर्थिक सहयोग रोक्ने भएको छ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) प्रकोप नियन्त्रणमा डब्लूएचओले न्यूनतम दायित्व पूरा गर्न विफल भएको आरोप समेत लगाएक थिए ।

‘कोरोना भाइरस संक्रमण फैलने विषयलाई एकदमै नराम्रो ढंगले व्यवस्थापन गरेको र त्यसलाई ढाकछोप गरेको विषयमा समीक्षा भइरहँदा आर्थिक सहयोग रोक्न म आफ्नो प्रशासनलाई निर्देशन दिँदैछु,’ ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले बताए। उनले डब्लूएचओलाई जबाफदेही बनाउनुपर्नेमा समेत जोड दिएका छन्। यसअघि उनले डब्लूएचओ चीनमुखी भएको आरोप लगाएका थिए।

डब्लूएचओलाई अमेरिकाले सबैभन्दा धेरै आर्थिक सहायता उपलब्ध गराउँछ। गत वर्ष उसले ४० करोड डलर सहयोग दिएको थियो, जुन डब्लूएचओको कुल बजेटको १५ प्रतिशत रकम हो।