विकासका संरचना जलाउने प्रवृत्तिप्रति ओलीको आक्रोश

विकासका संरचना जलाउने प्रवृत्तिप्रति ओलीको आक्रोश

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मानिसको सांस्कृतिक मनोवृत्ति बिग्रिँदा राजनीतिसमेत खलबलिएको टिप्पणी गरेका छन्।

सोमवार भक्तपुरमा नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले बडादशैँ, शुभदीपावली, नेपाल संवत ११४७ तथा छठ पर्वको अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले समाजमा परोपकार, करुणा र निर्माणको भावनाभन्दा विध्वंशको प्रवृत्ति बढेको बताए।

उनले संसद भवन निर्माण गर्नुभन्दा आगो लगाउने र सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुभन्दा नष्ट गर्ने प्रवृत्ति बढेको भन्दै असन्तुष्टि व्यक्त गरे। ओलीले आफू नेतृत्वको सरकारले विभिन्न स्थानमा ठूला सभा हल, रङ्गशाला तथा पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको दाबी गरे। गोदावरीमा अन्तर्राष्ट्रियस्तरको सभागृह निर्माण गरिएको उल्लेख गर्दै उनले त्यहाँ हजारौँ मानिस अट्ने व्यवस्था रहेको बताए।

भक्तपुरमा समेत ठूला सार्वजनिक तथा सामुदायिक सभा हलको आवश्यकता रहेको उनको भनाइ छ। सामान्य कार्यक्रम आयोजना गर्नुपर्दा पार्टी प्यालेसमा निर्भर हुनुपर्ने अवस्था रहेको भन्दै उनले सार्वजनिक सभा हल निर्माणमा ध्यान दिनुपर्ने बताए। त्यस्तै, भूकम्पबाट क्षति पुगेका संरचनालाई अझ बलियो र व्यवस्थित रूपमा पुनर्निर्माण गर्ने प्रयास गरिएको उनले बताए।

दशरथ रङ्गशालाको पुनर्निर्माण, पोखरा रङ्गशालालगायत विभिन्न स्थानमा खेल पूर्वाधार निर्माणलाई उनले विकासको उदाहरण भएको बताए। विकास भएका संरचना भत्काउने, झुट बोल्ने र राष्ट्रिय सम्पत्तिमा आगजनी तथा लुटपाट गर्ने प्रवृत्ति बढेको भन्दै ओलीले चिन्ता व्यक्त गरे। यस्ता गतिविधिको जड समाजमा सांस्कृतिक भावना कमजोर हुनु रहेको उनको तर्क छ। 

उनले भाटभटेनीका २१ वटा स्टोरमा लुटपाट र आगजनी भएको प्रसङ्ग उल्लेख गर्दै सार्वजनिक तथा निजी सम्पती लुट्ने र जलाउने व्यक्तिहरूले नेपाली समाजकै बद्नाम गराएको टिप्पणी गरे। यस्ता गतिविधिमा संलग्न हुनेहरू नेपाली समाजका लागि कलङ्क भएको उनको भनाइ छ। ओलीले समाजमा निर्माण, संरक्षण, परोपकार र जिम्मेवारीवोधको भावना विकास गर्नुपर्नेमा जोड दिए।