शीतल निवासमा राष्ट्रपति पौडेलद्वारा विधिपूर्वक गाईपूजा

शीतल निवासमा राष्ट्रपति पौडेलद्वारा विधिपूर्वक गाईपूजा

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वका अवसरमा शीतल निवासस्थित राष्ट्रपति भवनमा विधिपूर्वक गाईको पूजाआजा गरेका छन्।

कार्तिक कृष्ण औँसी अर्थात् गाईतिहारका दिन आज बिहान राष्ट्रपति पौडेलले सनातन हिन्दू परम्पराअनुसार गाईलाई देवी लक्ष्मीको प्रतीकका रूपमा पूजा गरेका हुन्। पूजाका क्रममा उनले गाईलाई टीका, माला पहिराएर भक्तिभावपूर्वक प्रार्थना गर्नुका साथै सेलरोटी, घाँस तथा मीठा खानेकुरा खुवाएका थिए।

नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार (दीपावली) का क्रममा गाईलाई कृषिप्रधान समाजको आधार, पवित्रता, समृद्धि र सौभाग्यको प्रतीकका रूपमा पूज्ने सनातन परम्परा रहँदै आएको छ।

राष्ट्रपति पौडेलले गाईपूजाका माध्यमबाट नेपालको मौलिक संस्कृति, परम्परा र धार्मिक आस्थाको निरन्तरता तथा प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।