काठमाडौं। नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले लक्ष्मीपूजाको बिदामासमेत नेपाल प्रहरीको साइबर ब्युरोको कार्यालयमा पुगेर आफूमाथि परेको उजुरीमा सहमति गरी फर्किएका छन् । ब्युरोले बोलाएपछि उनी आइतबार दिउँसो ब्युरो पुगेर उजुरीकर्ता पत्रकार रोशन खड्कासँग सहमति गरी साँझ फर्किएका हुन् ।
सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उजुरीकर्ताले साइबर ब्युरोमा उजुरी दिएका थिए । सो क्रममा सहमहामन्त्री शिवाकोटीले पनि सामाजिक सञ्जालबाटै प्रतिक्रिया दिएका थिए ।
जसलाई समाधान गर्नका लागि साइबर ब्युरोले दुवै पक्षलाई आइतबार दिउँसो बोलाएको थियो । दुवै पक्ष अब आइन्दा सामाजिक सञ्जालमा अप्रमाणित कुराहरू नराख्न राजी भएसँगै सहमतिमा निकास निस्केको हो ।
कथंकथाचित भोलिका दिनमा फेरि कुनै अप्रमाणित कुराहरू दुवै पक्षले राखेका खण्डमा जुनसुकै बेला पनि साइबर ब्युरोले बोलाउन सक्ने भएको छ ।
शिवाकोटी भित्र जाँदा कानून व्यवसायीलाई सँगै लैजान चाहे पनि प्रहरीले कानुन व्यवसायीलाई प्रवेशमा रोक लगाएको थियो । प्रहरीले कानून व्यवसायीलाई नभइ उजुरी मात्र परेकाले दुवै पक्षलाई सँगसँगै राखेर सहमति निकाल्ने अहम् भूमिका खेलेको थियो ।
शिवाकोटीले प्रतिपक्ष दलको नेताका हैसियतमा सरकारले गरेका कामका बारेमा प्रश्न उठाउँदै आएका छन् । सो क्रममा पत्रकार खड्का पनि जोडिएपछि त्यसबारेमासमेत लेखेका थिए । तर खड्का भने साइबर ब्युरोमा उजुरी दिन पुगेका थिए ।
शिवाकोटीले सामाजिक सञ्जालमा खड्काका कुरा किन पत्याउनु भन्दै प्रतिपक्षले जिम्मेवार ढंगले उठाएका प्रश्नहरूको सरकारले जिम्मेवार ढंगले जवाफ देओस् भनी लेखेका थिए ।
शिवाकोटीले सामाजिक सञ्जालमार्फत नै सरकारले विधि विधान मिचेर काम गरिरहेको र कांग्रेसलाई अनावश्यक विवादमा फसाउन खोजेको भन्दै केही दिनदेखि प्रतिक्रिया दिइरहेका छन् ।
यसअघि उनलाई गत साता नै साइबर ब्युरोले खोजेको थियो । उनी धार्मिक यात्रामा भारतमा रहेका बेलामासमेत उनलाई साइबर ब्युरोले खोजेको तर सम्पर्क नभएपछि साथीहरूमार्फत उनले ब्युरोले खोजेको खबर पाएका थिए ।
त्यसलगत्तै उनी कार्यक्रम छोट्याएर गत बिहीबार नै काठमाडौँ फर्केका थिए । यसको जानकारी सर्वत्र भए पनि प्रहरीले कुनै सम्पर्क गरेन । यद्यपि चाडबाडमा लक्ष्मी पूजा गर्ने बेलामा साइबर ब्युरोले कार्यालयमा बोलाएपछि उनी सहजै गएर आफ्नो नैतिकवान नेताको भूमिका देखाउन सफल भए ।