काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको नयाँ केन्द्रीय कार्यसमितिमा युवा, द्वन्द्वपीडित, सहिद परिवार र विविध क्षेत्रका व्यक्तित्वहरूको प्रतिनिधित्व बढेको बताउँदै कांग्रेस तन्नेरी र ऊर्जाशील बन्दै गएको बताएका छन्।
नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समारोहमा बोल्दै वरिष्ठ उपसभापति शर्माले विगतमा बहस र छलफलमा सीमित रहेका द्वन्द्वपीडित, सहिद परिवार तथा विभिन्न पेसा–व्यवसायका प्रतिनिधिहरू स्वयं नै यसपटक नेतृत्वमा चुनिएर आएको उल्लेख गरे। उनका अनुसार ३५ वर्षमुनिका ३५ हजारभन्दा बढी युवाहरू पार्टीका विभिन्न तहमा निर्वाचित भई केन्द्रीय समितिसम्म पुग्न सफल भएका छन्।
यसपटकको महाधिवेशन अघिल्ला महाधिवेशनको तुलनामा निकै जटिल र चुनौतीपूर्ण रहेको चर्चा गर्दै शर्माले प्रतिकूल परिस्थितिका बाबजुद महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउन समन्वयकारी भूमिका खेल्ने निर्वाचन समिति तथा संयोजक प्रेमबहादुर खड्कासहित गाउँ-गाउँसम्म खटिने सबैलाई धन्यवाद दिए।
कांग्रेसको ऐतिहासिक विरासतलाई जोगाउँदै वर्तमानलाई जिम्मेवार र भविष्यलाई सुन्दर बनाउने संकल्प नयाँ नेतृत्वले लिनुपर्नेमा उनले जोड दिए। नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई सचेत गराउँदै शर्माले भने, "केन्द्रीय समितिमा आउँदैमा आफू नै सबैभन्दा योग्य, सक्षम वा लोकप्रिय भएको नठान्नू। प्रतिस्पर्धाका क्रममा संयोगवश बाहिर रहनुभएका मेची-महाकालीका साथीहरू हामीभन्दा पनि योग्य हुनुहुन्छ। त्यसैले हामीलाई विश्वास गरेर मत दिने प्रत्येक कार्यकर्ताप्रति इमानदार भएर कार्यसम्पादन गर्नुपर्छ।"