काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका चाडपर्व तथा शुभकामना आदानप्रदानका औपचारिक कार्यक्रमलाई अन्त्य गर्दै समुदायसँग जोड्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रमपछि सम्बोधन गर्दै उनले पार्टीका विभिन्न कमिटीले आयोजना गर्ने कार्यक्रमहरूलाई व्यवस्थित र समुदायमुखी बनाउनुपर्नेमा जोड दिएका हुन्।
सम्बोधनका क्रममा सभापति थापाले निर्वाचनपछि टोल, वडा, क्षेत्र र गाउँ स्तरमा लहरै आयोजना गरिने बधाई तथा सम्मान ग्रहण गर्ने परम्परालाई अब पूर्ण रूपमा बन्द गर्नुपर्ने स्पष्ट पारे। एकैपटक शपथ लिएर जिम्मेवारी सम्हालिसकेकाले बारम्बार औपचारिक कार्यक्रम गरेर सम्मान थाप्ने प्रवृत्ति त्याग्न उनले आग्रह गरे।
त्यसैगरी, तिहार तथा छठ जस्ता पर्वहरूका अवसरमा पार्टीका माथिल्लोदेखि तल्लो तहसम्म आयोजना गरिने परम्परागत शुभकामना आदानप्रदान, लामबद्ध भाषण र औपचारिक बैठकको ढाँचालाई बदल्नुपर्ने उनले बताए।
अब उप्रान्त कुनै पनि पार्टी कमिटीले आयोजना गर्ने चाडपर्वका कार्यक्रमहरू भाषण र शुभकामना दिने काममा मात्र सीमित नभई प्रत्यक्ष रूपमा स्थानीय समुदायको हित र सहभागितासँग जोडिनुपर्नेमा थापाले विशेष जोड दिएका छन्।