काठमाडौँ । नेपाल प्रहरीले सातै प्रदेशका प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरूलाई काठमाडौँस्थित प्रहरी प्रधान कार्यालयमा बोलाएको छ। आज दिउँसो बस्ने प्रहरी समन्वय समिति (पीसीसी) को बैठकमा सहभागी हुन उनीहरूलाई हेडक्वार्टर झिकाइएको हो।
प्रहरीका एक उच्च अधिकारीका अनुसार सबै प्रदेशका डीआईजीहरूलाई आज मध्याह्न १२ देखि साढे १२ बजेभित्र प्रधान कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको थियो। सोही निर्देशनअनुसार प्रदेश प्रहरी प्रमुखहरू काठमाडौँ आउने क्रम जारी रहेको छ।
दिउँसो २ बजेका लागि तय गरिएको पीसीसी बैठक प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको अध्यक्षतामा बस्नेछ। प्रहरी संगठनभित्र नीतिगत र महत्त्वपूर्ण निर्णय लिने 'मन्त्रिपरिषद्' जस्तै मानिने यस बैठकमा समग्र शान्ति सुरक्षाको अवस्था, संगठनको आन्तरिक व्यवस्थापन तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ।