काठमाडाैं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुका साथै बङ्गालको खाडीमा विकसित भएको चक्रवात 'अर्नब' को आंशिक प्रभाव परेको जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली हुनेछ। यस अवधिमा कोशी र बागमती प्रदेशका हिमाली भेगका केही स्थान तथा अन्य हिमाली भूभागका थोरै स्थानहरूमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। त्यसैगरी मधेस, कोशी र बागमती प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थान र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा समेत मध्यम वर्षाको सम्भावना देखिएको छ।
आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा अधिकांश बदली रहनेछ। यस क्रममा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा र हिमपात हुन सक्नेछ भने लुम्बिनी र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।