काभ्रेको सेल्फीडाँडामा झापाबाट आउँदै गरेको माइक्रो दुर्घटना: सडकबाट २०० मिटर तल खस्यो

काभ्रेको सेल्फीडाँडामा झापाबाट आउँदै गरेको माइक्रो दुर्घटना: सडकबाट २०० मिटर तल खस्यो

काभ्रेपलाञ्चोक। बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ स्थित सेल्फीडाँडामा माइक्रो बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

झापाबाट काठमाडौँतर्फ आउँदै गरेको बा ३ ख ८४५९ नम्बरको हायस माइक्रो बस राति करिब २ बजे अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार दुर्घटनामा परी सवारी चालक इलाम नगरपालिका–६ का ३७ वर्षीय लोकबहादुर सेन्चुरी, काभ्रेको भुम्लु गाउँपालिका–७ की २६ वर्षीया रिता आपागाई र उनका ९ वर्षीय छोरा रितिक घाइते भएका छन्।

अस्थायी प्रहरी पोष्ट काभ्रेभञ्याङका प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेका अनुसार गाडीमा सवार चालकसहित तीनै जनालाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सकुशल उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाएको छ।