काठमाडौँ । काठमाडौं महानगरपालिकाले साँघुरा गल्ली र अत्यधिक सवारी चापका कारण बिरामीसम्म एम्बुलेन्स पुग्न कठिन हुने समस्या समाधान गर्न बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ ।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शुक्रबारदेखि सेवा सञ्चालनमा ल्याइएको जानकारी दिइन् । उनका अनुसार चारपाङ्ग्रे एम्बुलेन्स पुग्न कठिन हुने र ट्राफिक जामका कारण ढिलाइ हुने स्थानमा बाइक एम्बुलेन्स उपयोगी हुने अपेक्षा गरिएको छ ।
महानगरपालिकाको अनुदान तथा सहकार्यमा सञ्चालित १३ वटा अस्पताल तथा स्वास्थ्य संस्थाका प्रतिनिधिसँगको छलफलमा डंगोलले स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउन विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताइन् । ‘काठमाडौंमा पर्याप्त एम्बुलेन्स छन्, तर समयमा सेवा दिन सकिएको छैन । ट्राफिक जामका कारण धेरैपटक एम्बुलेन्स समयमै पुग्न सक्दैन,’ उनले भनिन् ।
महानगरपालिकाले नेपाल एम्बुलेन्स सेवासँगको सहकार्यमा निःशुल्क एम्बुलेन्स सेवा पनि सञ्चालन गर्दै आएको छ । १०२ नम्बरमा फोन गरेर लिन सकिने उक्त सेवा काठमाडौं महानगरपालिकामा मात्र सीमित नराखी उपत्यकाका अन्य स्थानीय तहमा समेत विस्तार गरिएको डंगोलले बताइन् ।
उनका अनुसार बाढीका बेला पनि १०२ नम्बरको सेवामार्फत उद्धार तथा स्वास्थ्य सेवामा छिटो प्रतिक्रिया दिन सहयोग पुगेको थियो । महानगरपालिकाले अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यकताअनुसार पूर्वाधार निर्माण, उपकरण खरिद र प्रत्यक्ष स्वास्थ्य सेवाका लागि अनुदान उपलब्ध गराउँदै आएको डंगोलले बताइन् । ती संस्थाले प्राप्त अनुदानको उपयोग, सेवा लिने बिरामीको सङ्ख्या र त्यसको प्रभावबारे महानगरपालिकासमक्ष प्रस्तुति दिएका थिए ।
कीर्तिपुरमा यसपटक पूर्वाधार वा उपकरणमा नभई प्रत्यक्ष स्वास्थ्य सेवाका लागि सहयोग गरिएको उनले जानकारी दिइन् । आर्थिक अभावका कारण जलनका बिरामी उपचारबाट वञ्चित नहोऊन् भनेर कोष स्थापना गरी आवश्यक बिरामीको उपचार खर्च व्यहोर्ने व्यवस्था गरिएको उनको भनाइ थियो ।
त्यस्तै, कान्ति बाल अस्पतालमा पूर्वाधार निर्माणका लागि सहकार्य भइरहेको, डल्लु क्षेत्रमा पूर्वाधार विकासमा सहयोग गरिएको र मनमोहन अस्पतालको सघन उपचार कक्ष स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको डंगोलले बताइन् ।