१३ प्रस्तावित राजदूतको सुनुवाइ सकियो

१३ प्रस्तावित राजदूतको सुनुवाइ सकियो

काठमाडौँ । संसदीय सुनुवाइ समितिमा विभिन्न देशको लागि प्रस्तावित १३ जना राजदूतको सुनुवाइ सकिएको छ । सोमबारबाट सुरु भएको सुनुवाइ बुधवार सकिएको हो । 

मन्त्रिपरिषद्को असोज २ गतेको बैठकले १३ देशका लागि राजदूत सिफारिस गरेको थियो । सरकारले भारतका निम्ति डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका निम्ति चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जंगबहादुर राणा, जर्मनीका निम्ति सरू जोशीलाई राजदूतमा सिफारिस गरेको थियो ।

यस्तै, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका निम्ति प्राप्ति शेरचन, जापानका लागि जिज्ञानकुमार थापा, ओमानका निम्ति डा. पदमाक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका निम्ति प्रा.डा. संगम श्रेष्ठ, श्रीलंकाका लागि डा. मंचलाकुमारी झा र साउदी अरेबियाका निम्ति गिरीबहादुर सुनारलाई राजदूतमा सिफारिस गरिएको थियो ।

मन्त्रिपरिषद्ले सिफारिस गरेका १३ जना राजदूतको सुनुवाइ बुधवार सकिएको हो । सुनुवाइ सकिएका राजदूतहरूको अनुमोदन गर्न बाँकी रहेको छ । अहिले संसदीय समितिमा अनुमोदन गर्ने सम्बन्धमा छलफल चलिरहेको छ ।

छुटाउनुभयो कि ?