सुनसान खसीबजारः दसैँ आयो, खसीबोका किन्ने ग्राहक आएनन्

सुनसान खसीबजारः दसैँ आयो, खसीबोका किन्ने ग्राहक आएनन्

काठमाडौँ । दसैँ नजिकिएसँगै खसीबजारमा किनमेल गर्नेको चहलपहल बढ्ने गरे पनि यस वर्ष काठमाडौँको कलंकीस्थित खसीबजारमा विगतका वर्षको तुलनामा सुनसान देखिएको छ। दसैँका लागि खसीबोका खरिद गर्ने ग्राहकको उपस्थिति अपेक्षाअनुसार नबढेको व्यापारीहरूले बताएका छन्।

कलंकी खसीबजारमा विगत ८–९ वर्षदेखि व्यापार गर्दै आएका चितवनका रामहरि थापा क्षेत्रीका अनुसार यस वर्ष बजारमा खासै चहलपहल छैन। उनका अनुसार खसीको आपूर्तिमा ठूलो समस्या नभए पनि गत वर्षको तुलनामा मूल्य भने बढेको छ।

व्यापारी थापा क्षेत्रीका अनुसार कलंकी खसीबजारमा दाङ, सल्यान, सुर्खेत, कालीकोट, बैतडी, डोटी, उदयपुरलगायत विभिन्न जिल्लाबाट खसीबोका ल्याउने गरिन्छ। विभिन्न जिल्लाबाट खसीबोका भित्रिए पनि बजारमा ग्राहकको उपस्थिति भने विगतका वर्षजस्तो नरहेको उनले बताए।

हाल कलंकी खसीबजारमा खसीको मूल्य प्रतिकिलो ७ सय ८० देखि ८ सय ६० रुपैयाँसम्म रहेको व्यापारीहरू बताउँछन्। गत वर्षको तुलनामा मूल्य महँगो हुँदा उपभोक्तालाई दशैंका लागि खसी खरिद गर्न थप खर्च लाग्ने देखिएको छ।

दसैँमा मासुको खपत बढ्ने र खसीबजारमा किनमेल गर्नेको भीड लाग्ने अपेक्षा गरिए पनि यस वर्षको बजारको अवस्थाले व्यापारीहरूलाई निराश बनाएको छ। दसैँ नजिकिँदै गर्दा आगामी दिनमा ग्राहकको चहलपहल बढ्ने र व्यापारमा सुधार आउने आशा व्यापारीहरूले गरेका छन्।