काठमाडौँ । यस वर्षको मनसुन प्रणाली नेपालबाट पूर्ण रूपमा बाहिरिने चरणमा छ । पश्चिम नेपालबाट मनसुन बाहिरिइसकेको छ । पूर्वी भूभागमा मनसुनी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिन अनुकूल वातावरण बन्दै गएको छ । अबका दुई–चार दिनमा मनसुन पूर्ण रूपमा बाहिरिने सम्भावना रहेको महाशाखाका मौसमविद् माधवी सिग्देलले बताइन् । मनसुन पूर्ण रूपमा बाहिरिएपछि महाशाखाले विशेष बुलेटिन जारी गर्ने उनले जानकारी दिइन् । महाशाखाले यही असोज १७ गते देशका केही भूभागबाट मनसुन बाहिरिएको जनाएको थियो । “आज मिति २०८३ असोज १७ (3rd October, 2026) का दिन यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूबाट बाहिरिएको छ,” महाशाखाले भनेको थियो ।
त्यसपछि महाशाखाले मनसुन बाहिरिएको विषयमा अर्को बुलेटिन जारी गरेको छैन । “अबको दुई–चार दिनमा विशेष बुलेटिन जारी गर्छौं होला,” मौसमविद् सिग्देलले भनिन् ।हाल पश्चिम नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । पूर्वी भूभागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको उनले जानकारी दिइन् ।
मनसुन कमजोर र पश्चिमी वायु पनि मजबुत नभएकाले यति बेला देशमा वर्षाको गतिविधि न्यून रहेको उनले बताइन् । “पश्चिमी वायु पनि अहिले स्ट्रङ भएर आइसकेको छैन,” उनले भनिन्, “धेरै स्ट्रङ भए त धेरै पानी परिहाल्छ । अलिकति प्रभाव छ दुवै वायुको ।”
नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिने औसत मिति अक्टोबर २ हो । यो सरदर मिति मात्र भएकाले यसभन्दा ढिलो वा चाँडो पनि हुन सक्ने मौसमविद्ले बताउँदै आएका छन् । महाशाखाका अनुसार, नेपालमा मनसुनको सरदर अवधि ११२ दिन हो । तर, गत वर्ष सबैभन्दा लामो समय अर्थात् १३५ दिन यहाँ मनसुनी वायु थियो । नेपालमा तथ्यांक राख्न थालिएयता सन् १९७९ मा मनसुन अवधि सबैभन्दा छोटो अर्थात् ७३ दिनको थियो ।
देशमा पूर्वी भूभागबाट मनसुनको आगमन हुने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मितिभन्दा ६ दिन ढिलो गरी अर्थात् जुन १९ मा नेपाल प्रवेश गरेको थियो । नेपालमा मनसुन कोसी प्रदेश हुँदै भित्रन्छ र बिस्तारै सुदूरपश्चिमसम्म फैलन्छ । बहिर्गमनको सुरुआत सुदूरपश्चिमबाट हुन्छ र बिस्तारै कोसी प्रदेश नै हुँदै बाहिरिने महाशाखाले जनाएको छ ।