काठमाडौं। नवरात्रको पहिलो दिन आज नेपालीहरूले घरघरमा घटस्थापना गरी जमरा राखेर नवदुर्गाकी प्रथम स्वरूप शैलपुत्री देवीको आह्वानसहित विधिपूर्वक पूजाआराधना गर्दैछन्।
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाका दिन घरको पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक घटस्थापना गरेपछि शैलपुत्री देवीको पूजाआराधना गर्ने परम्परा छ। शैलपुत्री नवदुर्गाका नौवटा रूपमध्ये पहिलो रूप मानिन्छिन्।
देवीकवच, मार्कण्डेय पुराणलगायतका धार्मिक ग्रन्थहरूमा गिरिराज हिमालयकी पुत्री पार्वती नै शैलपुत्री देवी भएको उल्लेख गरिएको छ। नवरात्रका अवसरमा पहिलो दिन शैलपुत्री देवीको आराधना गर्नाले मन स्थिर हुने र भक्तहरूको कल्याण हुने धार्मिक विश्वास रहेको छ।