काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले व्यक्तिगत कारणले लागेको दाग मेटाउने काम व्यक्तिकै हुने बताएका छन् । कांग्रेस केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरेकी विनिता खड्का ठगी आरोपमा शुक्रबार (असोज २३) पक्राउ परेको विषयमा प्रतिक्रिया दिँदै उनले व्यक्तिलाई लागेका दागको जिम्मा पार्टीले नलिने बताए ।
सभापतिमा पुनः निर्वाचित भएपछि शनिबार (असोज २४) दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर उनले सम्बोधन गरेका हुन् । “लेखिदिनुभएकोमा, जानकारी दिनुभएकोमा तपाईंहरूलाई धन्यवाद । हाम्रो केन्द्रीय सदस्य चुनाव लड्नुभएको विनिता खड्का पक्राउ पर्नुभएको रहेछ,” उनले भने, “कुनै पनि व्यक्तिमाथि लागेको आरोपहरू उसैले खण्डन गर्ने हो । दाग लागेको छ भने आफैँले मेटाउने हो ।”
थापाले राजनीतिक कारणभन्दा बाहिर आफूमाथि कुनै दाग लागेमा एकजनालाई पनि नआउन आग्रह गरे । “राजनीतिभन्दा बाहिर मेरो आर्थिक, पारिवारिक कारणबाट ममाथि कुनै आरोप लाग्यो भने, कुनै दाग लाग्यो भने त्यो मेटाउने काम मेरो व्यक्तिगत हुन्छ । यसमा कांग्रेस सभापतिमाथि आरोप लाग्यो भनेर एकजनाले पनि बोल्नु पर्दैन,” उनले भने ।
उनले अगाडि भने, “अरू कसैलाई पनि व्यक्तिगत कारणले कुनै आरोप लाग्छ भने त्यसलाई कांग्रेसले बोक्दैन, कांग्रेसको सभापतिको हैसियतमा भन्दै छु, व्यक्तिगत कारणले मै पक्राउ परेँ भने पनि कोही नआउनुहोला ।”
व्यक्तिगत विषय राजनीतिक दलले बोक्न नहुनेमा उनले जोड दिए ।