चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा: अनुसन्धान टोलीले नियन्त्रणमा लियो महत्त्वपूर्ण कागजात

चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा: अनुसन्धान टोलीले नियन्त्रणमा लियो महत्त्वपूर्ण कागजात

काठमाडौं। गैरकानुनी सम्पत्ति आर्जन तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी गम्भीर अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनका पारिवारिक सदस्य तथा निकटस्थ व्यक्तिहरूको निवासमा एकैपटक छापा मारेको छ।

विभागको विशेष टोलीले राजधानीका विभिन्न स्थानमा टोली खटाएर एकसाथ छापा मार्दै अनुसन्धानका लागि अत्यन्त महत्त्वपूर्ण मानिएका वित्तीय कारोबार, जग्गाजमिनका स्रेस्ता तथा बैंक खातासँग सम्बन्धित कागजातहरू नियन्त्रणमा लिएको छ।

विभागको अनुसन्धान टोली पूर्वप्रधानन्यायाधीश जबराको निवासका साथै उनका भाइ प्रभुशमशेर जबरा र ज्वाइँ नवीन बस्नेतको घरमा समेत पुगेको थियो। यसका अलावा न्यायालयभित्र बिचौलियाको भूमिका खेलेको र अस्वाभाविक सम्पत्ति उपभोग गरेको आरोप लाग्दै आएका उनी निकट मानिएका नवराज थपलिया, दिपक तिमल्सिना र नारायण दाहालको निवासमा पनि टोली परिचालन गरी छापा मारिएको छ।

यसअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यराति उनकै निवासबाट नियन्त्रणमा लिएर करिब १२ घण्टा सोधपुछ गरेपछि छाडेको थियो।

सर्वोच्च अदालतमा रहँदा महाअभियोगको सामना गरेका जबरामाथि न्यायिक विचलन, पदको दुरुपयोग र बिचौलियामार्फत गैरकानुनी सम्पत्ति आर्जन गरेको गम्भीर आरोपहरू लाग्दै आएका छन्। संसद्को महाअभियोग सिफारिस समिति र महालेखा परीक्षकको प्रतिवेदनले समेत उनी र उनी निकट व्यक्तिहरूको अस्वाभाविक आर्थिक गतिविधिमाथि छानबिन गर्न सिफारिस गरेबमोजिम सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बरामद गरिएका कागजातहरूको विस्तृत विश्लेषण गरी थप कानुनी प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

छुटाउनुभयो कि ?