काठमाडौं । नेकपा एमालेले नेतृत्वको आलोचना गरेमा कार्यकर्तालाई अब सिधै कारबाही गर्ने भएको छ ।
अन्तरपार्टी निर्देशन जारी गर्दै एमालेले नेतृत्वको सार्वजनिक आलोचना गर्न निषेध गरेको हो । यसअघिका आलोचनामा छुट भए पनि अब सिधै कारबाही हुने एमालेले उल्लेख गरेको छ । कारबाहीको जिम्मेवारी संगठन विभाग र अनुशासन आयोगलाई दिइएको छ ।
अपानिमार्फत युवा पुस्तान्तरण र पार्टी जागरणमा केन्द्रित हुन एमालेले निर्देशन दिएको छ । यस्तै, सरकारको कार्यशैलीप्रति पनि एमालेले आपत्ति जनाएको छ । जनजीविकाका मुद्दालाई प्राथमिकतामा राखेर सडक र संसद् दुवै मोर्चामा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने एमालेले जनाएको छ । यसका लागि सबै देशभक्त नागरिक र दलहरूलाई सहकार्यको आह्वान एमालेले गरेको छ ।